
काठमाडाैं : कोरोना भाइरसको संक्रमण बढेको भन्दै कराँचीमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) स्थगित गरिएको छ ।
बिहीबार थप तीन खेलाडीमा कोरोना पुष्टि भएपछि बसेको पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) र टिम मालिकहरुको आकस्मिक भर्चुअल बैठकले पिएसएल तत्काल स्थगित गर्ने निर्णय गरेको हो।
समग्रमा ७ कोभिड १९ केस देखिएकोमा ६ जना खेलाडी छन् ।
पछिलो केही दिनदेखि कोभिड–१९ केसहरुमा निरन्तर बढोत्तरी हुँदै आएको छ । बैठकपछि पिसिबीले निरन्तर कोरोना केस बढेका कारण लिग स्थगन गर्नुपरेको उल्लेख गरेको छ ।
‘२० फेब्रुअरीयता ७ वटा कोभिड–१९ केसहरु देखिएपछि हामी यो निर्णय लिन बाध्य भएका हौँ।’ पाकिस्तान क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
लिगमा हालसम्म ३४ मध्ये १४ वटा खेलहरु सकिएको छ । प्रतियोगिता अब पुनः कहिले सुरु गर्ने भन्ने विषयमा भने केही उल्लेख गरिएको छैन ।
पाकिस्तान क्रिकेट बोर्डले सम्पूर्ण सहभागीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर यो निर्णय लिएको जनाएको छ। उसले सबै टिमका खेलाडीको पुनः पिसिआर टेस्ट गरेर भ्याक्सिन र आइसोलेसन सुविधाको व्यवस्था गर्ने पनि जनाएको छ।
पिसिबीले तीन वटा नयाँ केस दुई फरक टिममा देखिएकाले पनि सबै परीक्षणहरु गर्नुपर्ने जनाएको हो। बुधबार मध्याह्नमा भएको परीक्षणले फरक टिमका खेलाडी संक्रमित भएसँगै सावधानी अपनाउनुपर्ने अवस्था आएको पिसिबीले जनाएको छ।
तर पिसिबीले बुधबार भएका खेलका खेलाडीहरुमा नभई अन्य टिमका खेलाडीमा कोरोना देखिएको जनाएको छ । पहिलो कोरोना केस १ मार्चमा इस्लामाबाद युनाइटेडका अस्ट्रेलियन लेग स्पिनर फवाद अहमेदलाई देखिएको थियो।
अहमेदलाई कोरोना पोजेटिभ देखिएपछि क्वेटा र इस्लामावादको खेल १ दिन सारिएको थियो। त्यसपछि क्वेटा ग्ल्याडिएटर्सका ब्याट्सम्यान टम ब्यान्टन, कराँची किंग्सका प्रशिक्षक कमरान खानलाई पनि कोरोना देखिएको थियो।
सन्दीपले खेल्नै नपाई स्थगित
लाहोर क्वालेन्डर्समा आबद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेले एक खेल पनि खेल्न नपाउँदै लिग स्थगित भएको छ।
राशिद खानको स्थानमा प्रतियोगिता खेल्न पाकिस्तान पुगेका लामिछानेले बुधबार मात्र ३ दिने क्वारेन्टाइन अवधि पूरा गरेका थिए। जहाँ उनको २ वटा कोभिड–१९ टेस्ट नेगेटिभ आएपछि टिमसँग अभ्यासमा जोडिएका थिए।