२०८१ बैशाख ४ गते मङ्गलवार

पोलार्डको उत्कृष्ट इनिङमा वेस्टइन्डिज विजयी



वेस्टइन्डिजका स्टार किरोन पोलार्डले घरेलु मैदानमा श्रीलंका विरुद्धको पहिलो टी-२० मा सनसनीपूर्ण प्रदर्शन गरेका छन् ।

उनको उत्कृष्ट प्रदर्शनमा वेस्टइन्डिजले श्रीलंकालाई ४ विकेटले पराजित गरेको छ। जितसँगै तीन खेलको सिरिजमा घरेलु टोली १-० ले अग्रता लिन सफल भएको हो ।

विस्फोटक ब्याटिङ गरेका पोलार्डले ६ बलमा ६ छक्का प्रहार गर्दै वेस्टइन्डिजको लागि एकै ओभरमा सबै बलमा छक्का प्रहार गर्ने पहिलो ब्याट्सम्यान बने।

वेस्टइन्डिज विरुद्ध श्रीलंकाका स्पीनर धनञ्जय डी सिल्भाले पनि उत्कृष्ट बलिङ गरे। उनले ह्याट्रिक विकेट लिंदै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक लिने तेस्रो श्रीलंकन खेलाडी बने।

वेस्टइन्डिजको एन्टीगुवा स्थित कोलिडगे क्रिकेट मैदानमा भएको पहिलो टी-२० मा श्रीलंकाले टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको थियो। निर्धारित २० ओभरमा श्रीलंका ९ विकेट गुमाएर १३२ रन बनाएको थियो।

जवाफमा वेस्टइन्डिजले उत्कृष्ट सुरुवात गर्दै ३ ओभरमा विकेट नगुमाई ४८ रन बनाउन सफल भयो। तर, चौंथो ओभर बलिङ गर्न आएका अकिला धनञ्जयले ओभरको दोस्रो देखी पाँचौ बलसम्म लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरे।

इभिन लुइसलाई लंङअफमा क्याच आउट गराउँदै पहिलो विकेट लिएका धनञ्जयले दोस्रो बलमा क्रिस गेललाई खाता नखोल्दै एलबीडब्लू आउट गरे। ह्याट्रिक पूरा गर्ने क्रममा उनले निकोलस पुरनलाई शून्य रनमा डिकवेलालाई क्याच थमाएका थिए।

टी-२० अन्तरराष्ट्रियमा १४ औं ह्याट्रिक

टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा धनञ्जयले ह्याट्रिक लिएसँगै १४ औं ह्याट्रिक विकेट पुगेको छ।

जसमा थिसारा परेरा र लासिथ मालिंगापछि ह्याट्रिक विकेट लिने धनञ्जय श्रीलंकाका तेस्रो खेलाडी तथा पहिलो स्पिनर बन्दा टी-२० अन्तरराष्ट्रिय खेलमा भने यो समग्रतमा १४ औं ह्याट्रिक हो।

यसअघि मालिंगाले २०१७ मा बंगालदेशविरुद्ध तथा २०१९ मा न्युजिल्यान्डविरुद्ध ह्याट्रिक लिएका थिए। मलिंगाले न्युजिल्यान्डविरुद्ध ४ बलमा ४ विकेट लिंदै सनसनिपुर्ण प्रदर्शन गरेका थिए। त्यस्तै परेराले २०१६ मा भारतविरुद्ध ह्याट्रिक लिएका थिए।

धनञ्जयमाथिनै पोलार्डको बदला

धनञ्जयले ह्याट्रिकपछि संकटमा परेको वेस्टइन्डिज टीमलाई पोलार्डले उकासे उनले छैटौं ओभरमा लगातार ६ छक्का प्रहार गरे।

वेस्टइन्डिजले ६२ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा दायाँ हाते स्पिनर धनञ्जयमाथिनै उनले बदला लिँदै लगातार छक्का बर्साए।

११ बलमा ३८ रन बनाएर पोलार्ड सातौँ ओभरमा वानिन्दु हसरंगाबाट एलबिडब्लु आउट भए। तर, उनको उत्कृष्ट इनीङमा घरेलु टिमले १३.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ बलमा ६ छक्का प्रहार गर्ने कीर्तिमान यस अघि भारतीय ब्याट्सम्यान युवराज सिंहको नाममा मात्र रहेको थियो।

उनले सन् २००७ मा इंग्ल्यान्डविरुद्ध टी-२० विश्वकपको खेलमा स्टुवार्ट ब्रोडलाई लगातार ६ छक्का प्रहार गरेका थिए।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?