२०८० मङ्सिर २० गते बुधवार

न्यूजिल्यान्डमाथि अस्ट्रेलियाको प्रभावशाली जित



घरेलु टोली न्यूजिल्यान्ड विरुद्ध ५ खेलको टी-२० सिरिज अन्तर्गत तेस्रो खेलमा अस्ट्रेलियाले पहिलो जित निकालेको छ।

बुधबार वेलिङटनमा भएको तेस्रो टी-२० अन्तराष्ट्रिय खेलमा अस्ट्रेलियाले ६४ रनको प्रभावशाली जित निकालेको हो। यो सँगै यी दुई देशबीचको सिरिज २-१ को अवस्थामा पुगेको छ।

अघिल्ला दुई खेलमा घरेलु टोली न्यूजिल्यान्डले लगातार जित निकाल्दै सिरिजमा २-० को एकल अग्रता बनाएको थियो।

टस हारेर पहिलो ब्याटिङ गरेको अस्ट्रेलियाका स्टार खेलाडीको शानदार ब्याटिङ तथा अस्टन अगरको घातक बलिङमा न्यूजिल्यान्ड निरीह रह्यो। अस्ट्रेलियाले पहिलो ब्याटिङ गर्दै २०८ रनको विशाल स्कोर तयार गरेको थियो ।

निर्धारित २० ओभरमा ४ विकेट गुमाएर उच्च स्कोर तयार गर्ने क्रममा अस्ट्रेलियाका लागि ओपनर तथा कप्तान एरोन फिन्चले ६९ रनको स्कोर बनाउँदा ग्लेन म्याक्सवेलले पनि ७० रन बनाएका थिए।

३१ बल खेलेका म्याक्सवेलले ८ चौका र ५ छक्का प्रहार गरे। त्यस्तै, फिन्चले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे। उसका लागि जोस फिलिपले पनि ४३ रनको शानदार इनिङ खेले।

२०९ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको न्यूजिल्यान्डका लागि मार्टिन गुप्टीलको ४३ रनको इनिङ सर्वाधिक रह्यो। त्यसबाहेक डेभोन कनवेले ३८ रन बनाए।

समग्रमा न्यूजिल्यान्ड १७।१ ओभरमा १४४ रनमा अलआउट भयो। न्यूजिल्यान्डलाई सस्तैमा समेट्ने क्रममा अस्टन अगरले सनसनीपूर्ण बलिङ गरे। ४ ओभर बलिङ गरेका उनले ३० रन खर्चिएर ६ विकेट लिए। उनी प्लेयर अफ द म्याच घोषित भए।

यसअघि गत २२ फेब्रअरीमा भएको पहिलो टी-२० मा न्यूजिल्यान्डले ५३ रनको शानदार जित निकालेको थियो भने गत २५ फेब्रुअरी मा भएको दोस्रो खेलमा न्यूजिल्यान्डले ४ रनको रोमाञ्चक जित निकालेको थियो। यी दुई टीमबीच ५ खेलको टी-२० खेल खेल्ने कार्यतालिका रहेको छ।

न्यूजिल्यान्ड सिरिज कब्जा गर्न एक जित टाढा रहँदा अस्ट्रेलिया भने बाँकी दुबै खेलमा जितको खोजीमा हुने छ। अब पाँच मार्चमा वेलिङ्गटनमा नै चौथो टी-२० खेल हुने छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?