
बैतडी : बैतडीका स्थानीय तहहरूले चैत २५ गतेभित्र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने भएको छ।
जिल्ला खेलकुद विकास समितिले जिल्लाका १० वटै स्थानीय तहलाई पत्र लेख्दै चैत २५ गतेभित्र आफ्नो स्थानीय तहमा प्रतियोगिता सम्पन्न गर्न आग्रह गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् काठमाडौंबाट प्राप्त जानकारी अनुसार १२ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत मसान्तभित्र सक्न निर्देशन दिइएकाले स्थानीय तहमा २५ गतेसम्म सम्पन्न गर्न भनिएको हो।
स्थानीय तहमा प्रतियोगिता सम्पन्न भए पश्चात जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति तय हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख तर्कराज भट्टले जानकारी दिए।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका, २०७० चौथो संशोधन बमोजिम स्थानीय तहमा रहेका माध्यमिक विद्यालय सहभागी हुने गरी प्रतियोगिता सम्पन्न गरी प्रतिवेदन जिल्ला खेलकुद विकास समितिमा बुझाउन भनिएको छ।
प्रतियोगितामा सम्बन्धित स्थानीय तहका माध्यमिक तहमा नियमित रुपमा अध्ययनरत १८ वर्षमुनीका छात्रछात्राले सहभागी हुन पाउने जनाइएको छ।
स्थानीय तह रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, एथ्लेटिक्स, कराँते,तेक्वान्दो र उसु गरी ६ खेलहरूमा प्रतिस्पर्धा गराइने जिल्ला खेलकुद विकास समितिले जनाएको छ।