२०८० मङ्सिर २१ गते बिहिवार

नेपाली महिला टोलीका चार खेलाडीलाई पाकिस्तान लिगमा अवसर



इलाम : नेपाली राष्ट्रिय महिला टिमका चार खेलाडीले पाकिस्तानमा लिग फुटबल खेल्ने भएका छन्।

गोलरक्षक एन्जिला तुम्बापोसहित डिफेन्डर गीता राना, मिडफिल्डर सरु लिम्बु र स्ट्राइकर अनिता केसीले पाकिस्तानमा १३औं संस्करणको ‘नेसनल वुमेन्स फुटबल च्याम्पियनसिप’ खेल्ने भएका हुन्। उनीहरु सशस्त्र प्रहरी बलको एपिएफ क्लबका हुन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार उनीहरुलाई खेल्न जानका लागि एपिएफले स्वीकृति पत्र दिइसकेको छ।

पाकिस्तानको मासा युनाइटेड एफसीबाट खेल्न उनीहरु बिहीबार त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन्।

मार्च ८ देखि अप्रिल ३ सम्म हुने प्रतियोगितामा २० टिमले प्रतिस्पर्धा गर्ने तालिका पाकिस्तानी फुटबल महासंघ (पिएफएफ)ले सार्वजनिक गरेको छ। प्रारम्भिक चरणमा ५–५ टिमको चार समूहमा प्रतिस्पर्धा हुनेछ।

मासा युनाइटेडले समूह ‘बी’ मा कराची युनाइटेड, कराची वुमेन्स एफसी, एचईसी र सियायलकोट सिटीविरुद्ध खेल्नेछ। चारै जना खेलाडीको पारिश्रमिकबारे भने खुलाइएको छैन।

एपिएफले महिला लिगको उपाधिमा ह्याट्रिक गर्दा उनीहरूको प्रदर्शन महत्वपूर्ण रहेको थियो। उनीहरू पहिलोपल्ट विदेशी क्लबमा आवद्ध भएर खेल्न लागेका हुन्।

यसअघि एपिएफ क्लबकै सावित्रा भण्डारी र अनिता बस्नेतसँग मात्र विदेशी लिग खेलेको अनुभव छ। सावित्राले इन्जुरीका कारण केही समय सबै खाले प्रतियोगिता गुमाउनेछिन्।

दुई वर्षअघि सावित्रा र अनिता सम्मिलित सेथुले आइ लिग जितेको थियो। गत वर्ष भने सावित्रा सम्मलित गोकुलमले आई लिग जित्दा उनी लिगको सर्वोच्च गोलकर्ता बनेकी थिइन्।

नेपाली खेलाडी सम्मिलित मासा टिमले हालसम्म प्रतियोगिताको उपाधि जित्न सकेको छैन। नेपाली राष्ट्रिय टोलीकी गोलरक्षक एन्जिला पाकिस्तानको प्रतियोगिता प्रमाणित गर्ने अवसर रहेको बताउँछिन्।

‘पहिलो पटक विदेशी टिमबाट खेल्न पाउँदा उत्साहित छु,’ एन्जिलाले भनिन्, ‘ अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्ने यो हाम्रो लागि एकदमै ठूलो अवसर हो।

यसलाई उपयोग गर्नेछौं।’ लिगको विजेताले १० लाख पाकिस्तान रुपैयाँ प्राप्त गर्ने बताइएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?