२०८१ बैशाख ४ गते मङ्गलवार

बजारमा कच्चा सुनको चरम अभाव !



बजारमा कच्चा सुनको चरम अभाव देखिन थालेको छ । माग अनुसारको सुन आपुर्ति गर्न नसकेपछि व्यवसायीहरु ग्राहक आउँदा लुक्न थालेका छन् ।

व्यवसायीले सरकारसँग पटक—पटक सुन आयात बढाइदिन आग्रह गरेपनि सरकारले नसुनेको भन्दै व्यवसायीहरु रुष्ट बनेका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले सरकारले सुन आयातको कोटा नबढाइदिँदा व्यवसायीहरु अर्डर लिन नसकेर ग्राहक देख्ने बित्तिकै लुक्नुपर्ने अवस्था आएको बताउँछन् ।

सुनको अभाव चरम सिमामा पुगेको तर सरकार ‘हसहस’ मात्र भनेर बस्ने र आयातको व्यवस्था नगर्ने गरेको आरोप उनीहरुको छ । विवाहको सिजन नजिकिएसँगै सुनको अर्डर धमाधम आउन थालेको छ ।

पछिल्लो समय सुनको मूल्य केही सस्तो भएपछि सुनका गहना बनाउन आउनेहरु बढ्न थालेको शाक्य बताउँछन् । तर, विवाहकै लागि गरिएको अर्डरमा आफुले आधा तोला भन्दा बढीको गहना बनाउन नसक्ने भन्दै फर्काउने गरेको उनले बताए ।

अहिले बजारमा दैनिक २५ देखि ३० किलो सम्म सुनको माग छ । तर आयात दैनिक १० केजी हुने गरेको छ ।

त्यसमा पछि बैंकहरुले दैनिक आयात नगरिदिँदा सुनको चरम अभाव भएको व्यवसायीहरु बताउँछन् । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।

बुधबार ( फागुन १८) बजारमा सुनको मूल्य ८७ हजार ५ सय रुपैयाँ प्रति तोला छ । कुनै समय एक लाख नाघेको सुनसँग मुल्य महंगिएसँगै ग्राहक भड्किएका थिए ।

तर पछिल्लो समय सुनको मूल्य घट्न थालेपछि सुनका गहना बनाउन सर्वसाधारण तम्सिएका छन् । त्यसमा पनि विवाहको लगन आएसँगै सुनको माग ह्वात्तै बढेको छ ।

विदेशी मुद्रा सञ्चितीमा चाप परेको भन्दै गत चैत १६ गतेको मन्त्रीपरिषदको बैठकले दैनिक २० किलोबाट सुन आयातको कोटा घटाएको थियो । अर्थतन्त्रमा भार परेको निष्कर्ष सहित सरकारले विलासी वस्तुको आयातमा अंकुश लगाएको थियो ।

५० हजार डलर भन्दा माथिको गाडी आयात समेत सो समयमा प्रतिवन्ध लगाइयो । तर पछि गाडी आयातको विषय फुकुवा गरिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले विदेशी मुद्राको सञ्चितीमा सञ्चिती १४ खर्ब ९३ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।

यो यहि पुस मसान्तसम्मको अवस्था हो । यो सञ्चितीले १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकको तथ्यांकले देखाउँछ ।

अभाव हटाउने सरकारको आश्वासन मात्र

लकडाउनकै बेला प्रतिबन्ध लगाउँदा सो समय व्यापार ठप्प थियो । सरकारको यस निर्णयलाई व्यवसायीहरुले सहज रुपमा लिए ।

तर, अहिले विस्तारै व्यापार व्यवसाय पुरानो अवस्थामा फर्किन थालेपछि व्यवसायीहरु सुन आयातको कोटा बढाउन माग गर्दै विभिन्न सरकारी निकाय धाउन थालेका छन् ।

मंगलबार मात्र सुन चाँदी व्यवसायी महासंघको एउटा टोली उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय पुग्यो । मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईसँग भेट गरेर सुनको आयात बढाइदिन माग गरेका व्यवसायीहरु सचिवको आश्वासनको भरमा फर्किए ।

यस अघिका सचिवलाई समेत यस विषयमा जानकारी व्यवसायीले गराएका थिए । तर सचिव फेरिएपनि पुनः उनीहरु सरकारी निकायको ध्यानाकर्षण गराउन पुगे ।

व्यवसायीसँगको भेटपछि सचिव भट्टराईले कोटा वृद्धि गरी बजारमा देखिएको अभाव हटाउन पहल गर्ने प्रतिबद्धता जनाए । उनले आपूर्ति कम भएका कारण बजारमा सुनको अभाव देखिएको स्वीकार गर्दै सम्बन्धित निकायहरुसँग परामर्श समस्या समाधान गरिने बताए ।

सचिव भट्टराइले सुनचाँदी व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने नीतिगत व्यवस्थाका लागि यसअघि नै मस्यौदा तयार भैसकेको र त्यसलाई शीघ्र कार्यान्वयनमा लैजाने बताउँछन् ।

सुनको कोटा निर्धारणको जिम्मा पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलको सिफारिसमा मन्त्रिपरिषदको बैठकले कोटा निर्धारणको निर्णय गर्छ । अबको कोटा बृद्धिमा पनि मन्त्रिपरिषद्ले नै निर्धारण गर्नुपर्ने हुन्छ ।

यसअघि व्यवसायीहरुले सुनको आयातको विषयमा राष्ट्र बैँकसम्म पुगेर आश्वासन बोकेर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?