२०७८ बैशाख ७ गते मङ्गलवार

स्तनपानबाट वञ्चित बालबालिका विष सरहको बट्टाको दूध खाँदै



 

काठमाडौँ– कीर्तिपुर बस्दै आएकी राधा जोशीले ललितपुरस्थित पाटन अस्पतालमा ३ महिनाअघि छोरीलाई जन्म दिइन् ।

उनले चिकित्सकको सल्लाहअनुसार अप्रेसन गरेर बच्चा जन्माइन् । तर बच्चा जन्मेको एक घण्टाभित्र आफ्नो बिगौते दूध ख्वाउन सकिनन् । त्यसपछि बच्चालाई उनका आफन्तले बजारमा पाइने बट्टाका दूध ख्वाइदिए ।

३ दिनसमा स्वास्थ्यले साथ नदिँदा जोशीले स्तनपान गराउन चाहेर पनि असमर्थ भइन् । त्यसपछि छोरीलाई स्तनपान गराउन धेरै कोसिस गरेको सुनाइन् ।

छोरीले आमाको दूध राम्रोसँग नचुस्ने तर बट्टाको दूध भने निप्पलमार्फत मज्जाले खान थालिन् ।राधाले जस्तै कलङ्की बस्दै आएकी कृष्णा श्रेष्ठले करिब ७ महिनाअघि थापाथलीस्थित प्रसूति गृहमा अप्रेसनमार्फत छोरीलाई जन्म दिइन् ।

उनले पनि छोरी जन्मिएको दिनदेखि हालसम्म बट्टाको दूध ख्वाउँदै आएकी छिन् । उनले नानीलाई स्तनपान गराउन कोसिस गर्दै आएकी छन् तर उनको दूध भने आउँदैन । त्यसैले उनको नियमित बट्टाको दूध ख्वाउँदै आएकी छन् ।

श्रेष्ठ र जोशी मात्रै होइन पोखराकी रमा पाठक पनि छोरा जन्मिएको दिनदेखि नै बट्टाको दूध ख्वउन सुरु गरेकी हुन् ।

पोखराको अस्पतालमा सामान्य अवस्थामा एक वर्षअघि छोरालाई उनले जन्म दिएकी हुन् । छोरा जन्मिएपछि स्तनपान गराउँदा राम्रोसँग दूध नआएको भन्दै उनले आफ्नो बच्चालाई सुरुमै बट्टाको दूध ख्वाइन् । बच्चाले आमाको दूधभन्दा बट्टाको दूध निप्पलमार्फत राम्रोसँग खाएको सुनाइन् ।

आमाको दूधमा मुख राख्ने वित्तिकै रुने दूध चुस्न नमान्ने तर बट्टाको दूध भने नरोई खान थालेपछि उनले छोरालाई करिब ६ महिनासम्म बट्टाकै दूध ख्वाइन् भने त्यसपछि गाईको, बट्टाको दूध अन्य लिटो लगायत खानेकुरा ख्वाउन थालेकी छन् ।

ग्रामीणभन्दा सहरी क्षेत्रमा आजभोलि धेरै आमाहरूले बच्चालाई स्तनपानको साटो बट्टावाला दूधमा जोड दिएको पाइन्छ । नेपालमा साक्षरता दर बढ्दै गए पनि स्तनपान गराउने आमाको संख्या क्रमशः घट्दै गएको परिवार कल्याण महाशाखाअन्तर्गत पोषण शाखा प्रमुख केदार पराजुली बताउँछन् ।

 

पछिल्लो समय स्तनपान गराउने आमाको दर पनि घट्दै गएको छ । नेपालमा आजभन्दा २० वर्षअघि स्तनपान गराउने दर ८८ प्रतिशत थियो । तर २०१६ मा गरिएको सर्वेक्षणमा स्तनपान गराउने आमाको दर २२ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भयो ।

यस्तै २०१९ मा गरिएको मिक्स सर्वेले स्तनपान गराउने दर क्रमशः घटेर ५५ प्रतिशत झरेको देखाएको प्रमुख पराजुली बताउँछन् । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका डा. कल्पना सुवेदीका अनुसार पहिलो पटक स्तनपान गराउँदा धेरै आमामा सरर धारा बग्ने गरी दूध आउँछ भन्ने गतल धारणा छ ।

अप्रेसन तथा सामान्य तरिकाबाट सन्तानलाई जन्मदिने आमाहरूको दूध आउने क्रम क्रमशः बढ्दै जान्छ । बच्चाको पेट पनि प्रकृतिक रूपमा आमो थोरै दूधले पुग्ने पेट हुन्छ भने पछि क्रमशः बढ्दै जाने हुनाले बच्चालाई पुग्ने आमाबाट नै आउँछ भनेर सम्झाउँदा समेत कतिपय आमाहरूले नपत्ताउनेसमेत उनले सुनाइन् ।

‘सुरुमा आमाको स्तनबाट आउने बिगौते दूध कम हुन्छ,’ उनी भन्छिन्, ‘बिगौते दूध निचरेर वा आमाले सीधै ख्वाउँदा धेरै आमाले बच्चाको पेट अगाएन कि भनेर बट्टाको दूध ख्वाउँछन् ।’

स्तनपानको महत्त्व राम्रोसँग बुझ्न र बुझाउन नसक्दा बालबालिकाको स्वास्थ्यमाथि अञ्जानमा खेलवाड भइरहेको पोषण विभागका प्रमुख पराजुली बताउँछन् । बच्चा जन्मेको ६ महिनासम्म पानी पनि नखुवाई आमाको दूध मात्रै ख्वाउनुपर्छ ।

तर आमाको दूधको सट्टामा विशेष गरेर सहरी क्षेत्रमा बट्टाको दूधलाई प्राथमिकता दिने गरेको पाइन्छ । बच्चालाई बट्टाको दूध नियमित रूपमा ख्वाउँदा विस्तारै अभिभावकहरूले विष सेवन गराएको उनी सुनाउँछन् ।

जन्मनेवित्तिकै शिशुको पेट प्राकृतिक रूपमा सानो हुन्छ । आमाको स्तनबाट आउने बिगौते दूधले बच्चाको पेट भरिन्छ । तर शिशु अन्य कारण रुन थाल्यो भने पेट नभरिएर रोएको ठानेर बट्टाको दूध ख्वाउने चलन बढेको डा. सुवेदी बताउँछिन् ।

सुत्केरी आमाबाट आउने पहिलो बिगौते दूध बच्चाका लागि महत्त्वपूर्ण खोप भएको पोषण शाखाका प्रमुख पराजुली बताउँछन् । पहिलो प्राकृतिक खोप अर्थात् बिगौते दूध बच्चा जन्मेको १ घण्टाभित्र ख्वाउनुपर्छ । आमाको बिगौते दूध ख्वाउनुको साटो आजभोलि बट्टाको दूधलाई आमाको दूधजस्तै गरी प्राथमिकता दिएको पाइन्छ ।

स्वास्थ्य संस्थाबाट सुत्केरी र नयाँ नवजात शिशु घरमा फर्कंदा बजारमा पाइने विभिन्न कम्पनीका बट्टाका दूध पनि सँगै पुग्छ । स्तनपानको महत्त्वको विषयमा राज्यले सही तरिकाले बुझाउन नसक्दा बच्चाहरू बट्टाको दूध खान बाध्य छन् ।

अप्रेसन गरेर बच्चा जन्माउँदा सुत्केरी आमालाई सुरुमा शारीरिक रूपमा समस्या सिर्जना हुन्छ । अर्कोतिर बच्चालाई बजारमा पाइने बट्टाको दूध ख्वाउन सहज हुने भएकाले क्रमशः बट्टाको दूध ख्वाउने बानी विकास भएको प्रमुख पराजुली ठान्छन् ।

त्यस्तो गर्दा अप्रेसन गर्ने आमा र स्वास्थ्यकर्मीलाई पनि सजिलो हुने भएकाले बट्टाको दूध जन्मिनेवित्तिकै प्राथमिकता दिनु नहुने उनी ठान्छन् ।

सुत्केरी आमालाई केही समय गाह्रो भए पनि स्वास्थ्यकर्मीले परामर्श दिएर आमाको दूध बच्चालाई चुसाउने वा निचोर ख्वाउने कुरा जोड दिएको खण्डमा पनि बट्टाको दूध शिशुको मुखमा नपुग्ने उनी ठान्छन् ।

विशेष अवस्थामा जस्तै आमा अन्य कुनै स्वास्थ्य समस्या भएर दूध आउन सक्छ । अन्यथा बच्चा ६ महिना पुगुन्जेल आमाकै दूधले पुग्ने डा. सुवेदी बताउँछिन् ।

आजभोलि धेरै आमाहरू आफ्नो दूधले बच्चा अघाउँदैन, मेरो दूध राम्रोसँग आउँदैन जस्ता कुरा मस्तिष्कमा खेलाउने, बच्चा कुनै कारण रोएको छ भने भोक लागेर रोएको ठान्ने गर्छन् ।

त्यसपछि स्तनपान गराउँदा बच्चाले दूध चुसेन भन्ने र बच्चा भोकायो भन्दै बट्टाको दूधमा जोड दिने गरेको पाइन्छ, पछि आमाको दूध नै बच्चाले खान इच्छा नदेखाउने उनी बताउँछन् । बच्चा के कारणले रोएको हो, कुनकुन समयमा दूध चुसाउनुपर्छ भन्ने बारेमा आमाले बुझ्नुपर्ने उनी बताउँछिन् ।

बट्टाको दूध ख्वाउनु भनेको आफ्नै बालबालिकालाई विष ख्वाउनु हो । आमाको दूध पूर्ण रूपले खाने बालबालिका र बट्टाको दूध खाने बालबालिका बीच गरिएको अध्ययनले बट्टाको दूध खाने बालबालिकाको मृत्यु दर १० गुणा बढी देखाएको पोषण शाखा प्रमुख पराजुली बताउँछन् ।

बट्टाको दूध खाएका बालबालिका पछि गएर मोटोपन, सरुवारोग पाचन प्रणालीमा समस्या, मधुमेह, मुटु, मिर्गौला रोग लाग्ने दर बढी पाइएको अध्ययनले देखाएको उनले बताए । त्यसैले शरीरमा क्रमशः बट्टाको दूध सेवन गर्नेहरू बच्चामा समस्या देखिने उनले बताए । हामीले हाम्रो सन्तानलाई मिलाएर क्रमशः विष ख्वाएका छौँ भन्दा फरक पर्दैन ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार