
इक्वेडरका एक टेलिभिजन रिपोर्टर र उनको क्यामेरा ‘क्रू’ लुटपाटमा परेका छन् । त्यो पनि लाइभ कार्यक्रम सञ्चालन गरिरहेका बेला ।
मास्क लगाएका एक लुटेराले १२ फेब्रुअरीमा डिएगो ओर्डिनोलालाई बन्दुक तेर्स्याएका हुन् ।
इक्वेडरको डाइरेक टिभी स्पोर्टस्का यी रिपोर्टर उक्त दिन इसिड्रो रोमियो कार्बो मोनुमेन्टल रंगशालाबाहिर रिर्पोटिङ गर्दै थिए ।
यो रंगशाला स्थानीय बार्सिलोना एससी फुटबल क्लबको गृह मैदान हो । यति नै बेला बेसवल क्याप र अनुहारमा मास्क लगाएका एक व्यक्ति उनीसामु आएर बन्दुक तेर्स्याए ।
यी बन्दुकधारीहरुले क्रूका सदस्यहरुसँग टेलिफोनहरू मागे । त्यसपछि क्रूका एक सदस्यले आफ्नो स्मार्टफोन दिए । त्यो स्मार्टफोन बोकेर उनी टोलीलाई स्तब्ध पार्दै भागे ।
ओर्डिनोलाले ट्वीटरमा शेयर गरेपछि यो भिडियो भाइरल बनेको छ।
‘हामी शान्तसँग काम गर्न पनि सक्दैनौ । आज १ बजे मोनुमेन्टल रंगशालाबाहिरै यस्तो घटना भयो,’ ओर्डिनालाले लेखेका छन् ।
यस घटनापछि एक क्यामेराम्यानले बन्दुकधारीलाई पिछा गरेका थिए, ती बन्दुकधारी मोटरसाइकलमा पछाडि बसेर भागेका छन् ।
भिडियोलाई लाखौं पटक ट्वीटरमा मात्रै हेरिएको छ । अन्य सामाजिक सञ्जालमा पनि यो भिडियो भाइरल बनेको छ ।
ओर्डिनोलाले त्यसयता फेरि ट्वीट गर्दै समर्थनका लागि मानिसहरुलाई धन्यवाद दिएका छन् । प्रहरीले लुटेरालाई पक्राउ गरेर न्याय दिने वाचा गरेको उनले उल्लेख गरेका छन् ।