२०७८ कार्तिक १ गते सोमवार

प्रशासन झन् भद्रगोल : स्वास्थ्य मन्त्रालयमा दुई वर्षमा गैरस्वास्थ्य क्षेत्रका ६ सचिव



काठमाडौ । स्वास्थ्य मन्त्रालयको प्रशासन दुई वर्षदेखि गैरस्वास्थ्य समूहका सचिवको नेतृत्वमा छ । २८ असोज ०७५ मा डा. पुष्पा चौधरीको सरुवापछि प्रशासन क्षेत्रका सचिवले स्वास्थ्य मन्त्रालय चलाउँदै आएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञमध्येबाट एकजनालाई सचिव बनाउने प्रावधान छ । अहिले मन्त्रालयमा तीनजना प्रमुख विशेषज्ञ छन् । उनीहरूमध्येबाट सचिव बनाउने सुविधा र प्रावधान हुँदाहुँदै सरकारले दुई वर्षमा ६ जना सचिव ल्याएको छ ।

डा. चौधरीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर केदारबहादुर अधिकारीलाई स्वास्थ्यमा लगिएको थियो । तर, उनलाई ५१ दिनमै स्वास्थ्यबाट फिर्ता गरेर चन्द्रकुमार घिमिरेलाई सचिव बनाइयो । घिमिरेलाई पनि ८१ दिनमा सरुवा गरी महिला तथा बालबालिका मन्त्रालय पठाइयो । मन्त्रिपरिषद्ले ०७६ वैशाखमा घिमिरेको ठाउँमा कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियालाई ल्याएको थियो । उनले जम्मा चार महिना काम गर्न पाए ।

भदौ ०७६ मा शिक्षा मन्त्रालयबाट खगराज बराल स्वास्थ्यमा आए । उनी पनि पाँच महिनामै स्वास्थ्यबाट बिदा भए । बराललाई राष्ट्रपति कार्यालय पठाएर फागुनमा प्रशासन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालाई ल्याइयो । कोभिड महामारीको सुरुवाती चरणमा स्वास्थ्य मन्त्रालयको विवादास्पद निर्णय गर्दा कोइराला नै सचिव थिए । तर, उनलाई पनि तीन महिनामै सरुवा गरियो र जेठमा लक्ष्मण अर्याल आए । अर्याल अहिलेसम्म स्वास्थ्यमै छन् ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रबहादुर श्रेष्ठ सचिवका पनि दाबेदार हुन् । डा. सिंह स्वास्थ्य सेवा विभागको महानिर्देशक छन् भने डा. पोखरेललाई अन्तर्राष्ट्रिय समन्वय महाशाखाको संयोजन र श्रेष्ठलाई जनसंख्या र कर्मचारी समायोजनको जिम्मेवारी दिइएको छ ।

 

त्यस्तै, ११औँ तहका अर्थात् सहसचिवस्तरका पाँचजना भूमिकाविहीन छन् । मोहम्मद दाउद, डा. रिता भण्डारी (जोशी), डा. राधिका थपलिया, औषधि व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकाल र सागर दाहाल महिनौँदेखि जिम्मेवारविहीन छन् । त्यस्तै, वरिष्ठ सहसचिव भोगेन्द्रराज डोटेलले फाजिलमै रहँदै १ भदौबाट अवकाश पाए ।

महामारीमा समेत विशेषज्ञहरू परिचालन नभएकोमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू असन्तुष्ट छन् । चार महिनायता जिम्मेवारीको पर्खाइमा रहेकी डा. भण्डारी (जोशी) कर्मचारीको क्षमतालाई प्रयोग गर्न सरकारलाई आग्रह गर्छिन् । ‘सरकारले दिएको अवसरले हाम्रो क्षमता विकास भएको हो, उपयोग गरे राज्यलाई नै फाइदा हुन्छ, हामी काम गर्न सधैँ तत्पर छौँ,’ उनले भनिन् ।

पारिश्रमिक, जोखिम भत्ता, बिमा र समायोजनका विषय उठाउँदै स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । उनीहरूले स्वास्थ्य मन्त्रालयमा प्राविधिक सचिव ल्याउन पनि माग गरेका थिए । ४ माघमा आन्दोलनरत स्वास्थ्यकर्मी र मन्त्रालयबीच प्राविधिकतर्पmको अधिकारीलाई स्वास्थ्यसचिवको जिम्मेवारी दिने सहमति नै भएको थियो ।

आन्दोलनको समन्वय नेपाल चिकित्सक संघले गरेको थियो । ‘स्वास्थ्यमा प्राविधिक सचिव नभएको लामो समय भइसक्यो, प्रशासनिक सचिवले स्वास्थ्यकर्मीका समस्या र क्षमता बुझ्न सक्दैनन्,’ संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्, ‘परिणामस्वरूप समायोजनदेखि परिचालनसम्म समस्या छन्, त्यसैले यथाशीघ्र प्राविधिक सचिव ल्याउन माग गर्दछौँ ।’
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सचिवका लागि सिफारिस गर्ने विषयमा छलफल भइरहेको बताए । ‘स्वास्थ्यले प्राविधिक नै सचिव बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि अहिले नै केही भएको छैन । तर, यस विषयमा छलफल गरेर अगाडि बढ्छु ।’

पिएचडी भाइरोलोजिस्टलाई मेसुको जिम्मेवारी
महामारीकै समयमा महत्वपूर्ण भूमिका हुने भाइरोलोजिस्टलाई डेढ महिनामा दुईपटक सरुवा गरिएको छ  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई २५ पुसमा मन्त्रालय तानेर डेढ महिनासम्म कामविहीन बनाइयो । एक साताअघि उनलाई भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट बनाएर पठाइएको छ । उनको सेवा अवधि करिब दुई महिना बाँकी छ ।

जापानको नागासाकी युनिभर्सिटीबाट भाइरोलोजीमा पिएचडी गरेका पाण्डेले अमेरिकाको थोमस जेफरसन युनिभर्सिटीबाट भिक्नोलोजीमा स्नातकोत्तर गरेका छन् । देश तथा विदेशमा पाण्डेका ३८ वर्ष महामारीविज्ञका रूपमा काम गरेको अनुभव छ । तर, उनलाई आमअस्पतालको नेतृत्व दिइएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार