२०८० चैत्र १५ गते बिहिवार

स्वास्यमन्त्रालयद्वारा ९०० पर्ने सेनिटाइजर ३५०० मा खरिद



काठमाडौँ । स्वास्थ्य मन्त्रालयले मास्क, सेनिटाइजर, क्लोरिनलगायतका स्वास्थ्य सामग्री बजार मूल्यभन्दा झन्डै चार गुना महँगोमा खरिद गरेको पाइएको छ । बजारमा प्रतिथान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८ सय ५० देखि ९ सय रुपैयाँ पर्ने फ्लोरोना सेनिटाइजर ३ हजार ५ सय, ५ सय देखि ७ सय रुपैयाँ पर्ने क्लोरिन २ हजार ५ सय रुपैयाँमा मन्त्रालयले खरिद गरेको हो ।

बजारमा सस्तोमा सहजै पाइने बेला गत माघ २२ मा स्वास्थ्य सामग्री मन्त्रालयले किनेको हो । मन्त्रालयले माघ २२ मा मुक्तिनाथ मेडिको फर्मासँग ३० हजार थान मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५ लिटरको ३५ जार सेनिटाइजर र ५ लिटरकै ३० जार क्लोरिन खरिद गरेको थियो । ती सामानको बजार मूल्य भने त्यतिबेला र अहिले उस्तै रहेको मेडिकल सप्लायर्सहरू बताउँछन् । निश्चित व्यक्तिहरूले कमिसन लिएर बजार मूल्यभन्दा महँगोमा सामग्री खरिद गरेको हुन सक्ने मन्त्रालयका कर्मचारीहरू बताउँछन् । ‘कमिसन नभएको भए बजार मूल्यभन्दा महँगोमा किन खरिद गर्छन् ?’ उच्च तहका एक कर्मचारीले भने, ‘यतिको महँगो त मुलुकमा स्वास्थ्य सामग्री अभाव हुँदा पनि थिएन ।’

मन्त्रालयले खरिद गरेको मूल्यभन्दा पनि सस्तोमा सबैभन्दा राम्रो मानिएको डोचेम कम्पनीकै मास्क बजारमा पाइन्छ । ‘हामीले साढे ६ रुपैयाँमा डोचेम मास्क बिक्री गरिरहेका छौं,’ त्रिपुरेश्वरस्थित एक मेडिकल सप्लायर्सले भने, ‘सात रुपैयाँ पर्ने मास्क कस्तो रहेछ ?’ मेलबन भएको सबैभन्दा सस्तो मास्क २ रुपैयाँमा बजारमा उपलब्ध छ । मन्त्रालयले चिनियाँ कम्पनी होडोको तीन प्लाईको मास्क खरिद गरेको हो ।

कान्तिपुरले ग्राहक बनेर मुक्तिनाथ मेडिको फर्माका सञ्चालक मनोज चौलागाईंलाई मन्त्रालयमा उपलब्ध गराएको मास्क र अन्य सामानको मूल्यबारे जानकारी लिएको थियो । ‘मन्त्रालयमै उपलब्ध गराएको मास्क ४ रुपैयाँ (एक प्याकेटको २ सय) मा दिन सकिन्छ,’ उनले भने । मन्त्रालयलाई उपलब्ध गराएको फ्लोरोना कम्पनीको सेनिटाइजर अहिले नभएकाले आफ्नै उत्पादन धर्मभक्त (५ लिटर) को ८ सय रुपैयाँमा उपलब्ध गराउने उनले बताए । शान्तिनगर, कोटेश्वर, लोकन्थलीमा आफ्नो स्टोर रहेको उल्लेख गर्दै उनले पायक पर्ने जुनसुकै ठाउँबाट सामान लिन सकिने बताए । मन्त्रालयलाई बिक्री गरेकै सामान न्यून मूल्यमा उपलब्ध गराउन तयार रहेको उनको भनाइ थियो । ‘मन्त्रालयलाई हामीले जुन सामान दिएका हौं, त्यही दिन्छौं,’ चौलागाईंले भने ।

नेपाली बजारमा नेपाल औषधि कम्पनी लिमिटेडले उत्पादन गरेको सेनिटाइजर सबैभन्दा महँगो मानिन्छ । कम्पनीले ५ लिटरको सेनिटाइजर ३ हजार रुपैयाँमा बिक्री गर्ने गरेको छ । मन्त्रालयले भने सरकारी स्वामित्वको कम्पनीले उत्पादन गरेकोभन्दा पनि महँगोमा किनेको छ । ‘कताबाट कमिसन धेरै आउँछ, त्यतै किन्ने भएकाले निजी कम्पनीबाट लिएको हुन सक्छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘बजार मूल्यभन्दा बढीमा खरिद गर्नु त भ्रष्टाचार हो । यस विषयमा अख्तियारको पनि ध्यान जानुपर्छ ।’

मुक्तिनाथ मेडिको फर्माले मन्त्रालयलाई फ्लोरोना कम्पनीको सेनिटाइजर बिक्री गरेको थियो । यो कम्पनीको ५ लिटरको सेनिटाइजर ९ सय रुपैयाँ पर्ने फ्लोरोनाको डिलर पशुपति मार्केटिङका सञ्चालक जगदीश रनसरियाले बताए । ‘हामीले खुद्रा पनि ९ सय रुपैयाँमा बिक्री गरिरहेका छौं,’ उनले भने । मन्त्रालयले पछिल्लो पटक सेनिटाइजर, मास्क, ग्लोब्स, क्लोरिन करिब ४ लाख ५० हजार रुपैयाँको खरिद गरेको छ ।

मन्त्रालयले महँगोमा स्वास्थ्य सामग्री खरिद गरेको यो पहिलो पटक होइन । मुलुकमा लकडाउन हुनुअघि प्याकेटको ६ सय ५० रुपैयाँको दरले मास्क खरिद गरेको छ । यसअनुसार एउटा मास्कको मूल्य त्यसबेला १३ रुपैयाँ तिरेको थियो । यही मूल्यमा १५ हजार थान मास्क मन्त्रालयले खरिद गरेको थियो । त्यस्तै जेठ २८ मा १ हजारप्रति केएन मास्क २ सय ७५ का दरले कुशेश्वर इन्टरप्राइजेजसँग खरिद गरिएको थियो ।

स्वास्थ्य सामग्रीको मूल्य हरेक दिनजसो घटिरहेको हुन्छ । मन्त्रालयले असोज र पुसमा मास्क ६ रुपैयाँमा खरिद गरेको थियो । माघमा भने मास्कलाई ७ रुपैयाँ लगाएको छ । त्यस्तै सेनिटाइजर पनि भदौमा ५ लिटरको ३ हजारमा किनेको मन्त्रालयले माघमा ३ हजार ५ सय रुपैयाँ लगाएको छ । ‘बजारमा मास्कको मूल्य घटिरहेका बेला मन्त्रालयले किन महँगोमा खरिद गरेको होला ? कारण सबैले सहजै अनुमान लगाउन सकिन्छ,’ मन्त्रालयका एक कर्मचारीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखा प्रमुख दामोदर रेग्मीले खरिद प्रक्रिया पारदर्शी रहेको दाबी गरे । ‘हामीले सार्वजनिक खरिद ऐन प्रक्रिया अपनाएका हुन्छौं । कुनै सामान खरिद गर्न तीनवटा कोटेसन लिन्छौं । सामान खरिद गर्न खरिद इकाइ गठन गरिएको हुन्छ । उसले लागत मूल्य सिफारिस गर्छ,’ उनले भने, ‘पछिल्लो पटक खरिद गरेको स्वास्थ्य सामग्रीमा पनि यही प्रक्रिया अपनाइएकाले पारदर्शी नै छ । यसमा शंका गर्नुपर्दैन ।’कान्तिपुरबाट

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?