
बीबीसी । आइतबार फेसबुकले म्यामार सेनाका सबै प्रमुख पेज डिलिट गरिदिएको छ । हिंसा भड्काउने पोस्टहरुले कम्पनीको नीति उल्लंघन भएको भन्दै फेसबुकले यस्तो खबर गरेको हो । सेना पक्षले यसबारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
दुई हप्ता देखि चल्दै आएको आन्दोलन शनिबार सबैभन्दा हिंसात्मक बन्न पुगेको थियो । जसमा सेना विरुद्ध प्रदर्शन गरिरहेका आन्दोलनकारीहरुलाई नियन्त्रण गर्ने प्रयासमा सेनाले गोली चलाउँदा दुई जना मारिएका हुन् ।
यसअघि २०१८ मा पनि फेसबुकले आर्मीका प्रमुख मिन अङ ह्लेङ सहित अन्य १९ ठुला अफिसर र संगठनहरुलाई प्रतिबन्धित गर्दै सेनाले चलाउने गरेका सयौँ अन्य पेजहरुलाई अनुचित व्यवहारको कारण देखाउँदै हटाइदिएको थियो ।
म्यान्मारमा नोभेम्बरमा सम्पन्न चुनाव अगाडि पनि फेसबुकले ७० भन्दा धेरै फेक अकाउन्टका नेटवर्क र सेनाका पेज डिलिट गरेको घोषणा गरेको थियो । ती पेजहरुमा सेनाबारे सकारात्मक सामग्री थियो भने नेतृ आन साङ सुकी र उनकी पार्टीको आलोचना गरिएको थियो ।