२०८० चैत्र ६ गते मङ्गलवार

यो अन्धविश्वास हो कि सफलताको विज्ञान ?



तपाईं जतिसुकै नास्तिक भए पनि शुभ अशुभको विचार तपाईंमा नआउने हो र ? तपाईंको जाति, धर्म, समुदाय,छरछिमेक, घर- परिवार, समाज, क्षेत्र, प्रान्त, तपाईंले बसोबास गर्ने ‘लोकालिटी’मा अनेको यस्ता प्रचलन र मान्यता व्याप्त हुन्छन् जसलाई तपाईं आधुनिकताको मनस्थितिले जीवनको सहज अवस्थामा अन्धविश्वास भनी प्रगतिशीलता प्रदर्शित गर्ने पाखण्ड गर्नु हुन्छ।

तर अप्ठेरो स्थितिमा आउनासाथ तपाईंको चरित्रमा ३६० डिग्रीकै रूपान्तरण हुन आइ बारदेखि तिथि विचार गर्दै भैंसी पूजन, रत्न धारण, शनि र मंगल निवारण लगायतका अन्य तमाम गतिविधि र टूना टोटका गर्न अग्रसर भएका अनेकौँ उदहारण हाम्रै वरिपरी भेटिन्छन् ।

तपाईं र हामी भनेका सामान्य प्राणी! हामीले अति विश्वास राखेका हाम्रो आधुनिकताका प्रेरणा श्रोत महान हस्तीहरुले पनि यही किसिमको आचारविचार मनस्थिति राखेका हुन्छन्। के तपाईंलाई पत्यार लागेन ? ल त्यसो भए यो एउटा प्रसंग पढ्नुस्।

टूना टोटकामा विश्वास गर्ने हामी नेपाली र भारतीयहरु मात्रै छैनौँ संसारका सबै कुनामा यस्ता अनेकौ प्रकारका मान्यता अनुशरण गरिन्छ। कुरा विश्वप्रसिद्ध अमेरिकी अन्तरिक्ष एजेन्सी नासाकै गरौँ। नासा यस्तै एउटा मान्यता पालन गर्छ।

नासाले कुनै पनि अन्तरिक्ष मिसन प्रक्षेपण गर्दा नियन्त्रण कक्षमा रहेका वैज्ञानिकहरूले बदाम खाने गर्छन्। नासाले यो घरेलु तरिकका १९६४ यता पालन गर्दै आइरहेको छ। नासाका वैज्ञानिकहरुको मान्यता छ बदाम खाने चलनले मिसनमा सफलता पाइन्छ।

यस चलनको प्रारम्भ १९६०को दशकमा भएको थियो। २३ अगस्त १९६१ का दिन नासाले चन्द्रमाको अध्ययनका लागि रेन्जर १ नामक यान प्रक्षेपित गर्‍यो। मिसन असफल रह्यो। नासाले रेन्जर सिरीजमा एकपछि अर्को यान प्रक्षेपित गर्‍यो तर सफलता पाउन सकेन ।

१८ नोभेम्बर १९६१ मा रेन्जर २ पनि सफल हुन सकेन। २६ जनवरी १९६२ को रेन्जर ३ बाट पनि असफलता नै हात लाग्यो। २३ अप्रिल १९६२ को रेन्जर ४ ले पनि पूर्ववर्तीका भाँति वैज्ञानिकहरुलाई निराश नै बनायो। १८ अक्टोबर १९६२ को रेन्जर ५ ले पनि असफलताकै इतिहास दोहर्‍यायो। ३० जनवरी १९६४ को रेंजर ६ ले पनि इतिहास बद्लिन सकेन ।

६ वटा रेन्जर अभियान असफल भइसकेपछि २८ जुलाई १९६४ मा पठाइएको रेन्जर ७ ले भने झण्डै ६८ घन्टाको यात्रा गरे पछि ३१ जुलाई १९६४ का दिन चन्द्रमामा पुगेर नासालाई पहिलो पटक चन्द्रमाका फोटो पठाएको थियो। नासाको यस सफलतासँग एउटा अचम्मको प्रसंग जोड़ियो । ६ वटा मिसन असफल भएका सन्दर्भमा सातौ मिसनको सफलता निश्चय पनि नासाका लागि उत्साहजनक बन्यो। नासाले यस पछि रेन्जर सीरीजमा रेन्जर ८ र रेंजर ९ पनि चन्द्रमामा पठायो । दुबै सफल रहे।

नासाको ‘जेट प्रपोलसन लेबोरेट्री’का वैज्ञानिकहरुले भने रेन्जर ७ को एउटा उपक्रमलाई भने यी दुबै मिसनमा फलो गरे ।
रेन्जर ७ प्रक्षेपण भएको दिन नासाको ‘जेट प्रपोलसन लेबोरेट्री’को एकजना व्यक्ति प्रक्षेपणका दौरान बदाम खाइरहेको थियो। मिसन सफल रह्यो।

यस सफलता पछि ‘जेट प्रपोलसन लेबोरेट्री’का वैज्ञानिकले प्रक्षेपण अघि बदाम खाने परम्परा निर्वाह गरे। बदाम खाएर गरिएका दुबै मिसन सफल बने। यस पछि बदामखाने चलन स्थापित भयो ।

‘जेट प्रपोलसन लेबोरेट्री’का वैज्ञानिकहरुले कुनै पनि महत्वपूर्ण अभियान प्रक्षेपित वा अवतरण गर्दा बदाम खाने गर्छन्। यो नासाको अन्धविश्वास हो कि सफलताको विज्ञान यसबारे नासा कुनै अनुसन्धान गर्न चाहँदैन । बरु यसको सट्टा नासा यस अन्धविश्वास अथवा परम्पराको पालन गर्नमै रमाउँछ।

नासाकै जस्तै भारत र रूसी अन्तरिक्ष एजेन्सीका वैज्ञानिकहरुले पूजापाठ गर्नुका साथै यस्तै कुनै विचित्रको मान्यता पालन गर्छन्। परम्परा अनुसार ‘रकेट लन्च’का दिन प्रोजेक्टको प्रमुखले नयाँ शर्ट पनि लाउने गर्छन् । तपाईंले पनि यदि यस्तो कुनै परम्परा पालन गर्नु हुन्छ भने यसमा केही नराम्रो होइन, नासाले त निर्धक्क साथ पालन गर्छ भने तपाईंलाई पालन गर्न के ले छेक्छ ?

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?