२०८० चैत्र १६ गते शुक्रवार

‘हामीलाई सिध्याउँछु भन्ने प्रचण्ड आफै सिद्धिनुभयो’



विराटनगर : प्रधानमन्त्री केपी ओलीले प्रचण्ड सिद्धिने बाटोमा हिँडेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका अ‍ोलीले यस्तो आरोप लगाएका हुन् ।

अझैसम्म फर्किएर आउन र जनताको सागरमा मिसिन आग्रह गर्दै उनले सिद्धिने बाटोमा नहिँड्न सुझाव दिए। ‘अझै फर्किएर आउनुहोस्, नेपाली जनताको सागरमा मिसिनुहोस् ।

भीरबाट लड्नेलाई राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन’, प्रचण्डको नाम लिँदै ओलीले भने, ‘उहाँ आउने र फर्किने बाटोमा हिँड्नु भएको होइन। सिधै गएर सिद्धिने बाटोमा हिँड्नु भएको हो। उहाँको हविगत सिद्धिने बाटोमा छ।’

सुरुमा वैद्यको साथमा बसेका प्रचण्ड त्यसपछि डाक्टरको साथमा लागेको र डाक्टरले पनि छोडेपछि अहिले झाक्रीको साथमा पुगेको भन्दै ओलीले व्यङ्ग्य गरे।

‘पहिला प्रचण्ड वैद्यको साथमा हुनुहुन्थ्यो, त्यसपछि डाक्टरलाई साथमा लिनुभयो। वैद्य र डाक्टर छोड्नुभयो। अहिले झाक्रीलाई साथमा लिनुभयो’, ओलीले भने, ‘गलत बाटोमा हिँड्नुभयो उहाँलाई झाक्रीले पनि छोड्छन्।’

ओलीले दुई चार सिटमा सीमित प्रचण्डलाई सुरुमा ठूलो जुरो हालिदिएको त्यसपछि सिङ्ग हादिदिएपछि अहिले उहाँ आफूहरुलाई सिध्याउँछु भन्दै हिँडेको आरोप लगाए।

‘दुई चार सिटमा सीमित हुने प्रचण्डलाई ठूलो जुरो हालिदिएको थिएँ। त्यसपछि लामा सिङ्ग हालिदिएको थिए’, प्रचण्डको आलोचना गर्दै ओलीले भने, ‘त्यसपछि उहाँले नै हामीलाई सिध्याउँछु भन्नुभयो। अब उहाँ सिद्धिनुभयो।’

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?