२०८० चैत्र १६ गते शुक्रवार

सगरमाथा संवाद आयोजन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो तयारी



कोरोना महामारीका कारण गत वर्ष अन्तिम समयमा स्थगन गरिएको सगरमाथा संवाद आयोजना गर्न पुनः तयारी थालिएको छ ।

गत वर्ष अपि्रल २-४ सो सम्मेलन तय भएको थियो । जलवायु परिवर्तनका विषयको विषयमा नेतृत्व लिने उदेश्यले नेपाल सरकारले सो संवाद आयोजना गर्न लागेको हो ।

कोरोनाको संक्रमण कम हुँदै गएको र भ्याक्सीनको उपलब्धता पनि हुँदै गएकाले सो संवाद आयोजनाबारे परराष्ट्र मन्त्रालयले छलफल थालेको छ ।

नोभेम्बर महिनाको १-१२ सम्म आयोजना हुने कोप सम्मेलन अगाडि नै सो संवाद आयोजना गर्न सकिने/नसकिनेबारे विज्ञहरुसँग राय लिन थालिएको छ ।

मन्त्रालयमा शुक्रबार भएको वैठकमा विज्ञ समूहलाई कोप सम्मेलन अगाडि संवाद आयोजना गर्न सकिने विषयमा अध्ययन गरी पाँच दिनभित्र राय पेस गर्न भनिएको छ ।

कोरोनाको कारण भौतिकरुपमा गर्न कति सम्भव छ र भर्जुअल माध्यमले गर्न सकिन्छ वा सकिदैन भन्ने विषयमा समेत विज्ञ समूहले आफ्नो राय दिने छ ।

सो विज्ञ समूहको रायको आधारमा मन्त्रालयले मन्त्रीपरिषदमा प्रस्ताव लैजाने छ । कोप-२६ सम्मेलन अगाडि नै संवाद आयोजना गर्न सकिएमा यसका निष्कर्षलाई विश्व सम्मेलनमा प्रस्तुत गर्न सकिने सरकारको बुझाइ छ ।

विश्व तापमान वृद्धि र जलवायु परिवर्तनका विषयमा नेपालको योगदान एकदमै न्यून भए पनि नेपालले यसको असर भोग्नु परेको छ ।

विशेषतः हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असरलाई संसारभरी हाइलाइट गर्नु सो सम्मेलनको उदेश्य हो । सो सम्मेलनमा विभिन्न देशका र संस्थाका प्रतिनिधीका साथै अन्तरराष्ट्रिय विज्ञलाई समेत बोलाउने तयारी सरकारको छ ।

सरकारले गत वर्ष यसका लागि एक फरक सचिवालय नै गठन गरेर तयारी अगाडी बढाएको थियो । त्यसैगरी गत वर्ष सो सम्मेलनका छलफल गर्ने विषयमा विभिन्न सेमिनारहरु समेत आयोजना गरिएको थियो ।

सगरमाथा संवाद आयोजना गर्नका लागि सहयोग गर्नका लागि विभिन्न देशहरु समेत इच्छुक देखिएका छन् र यसमा धेरै चासो समेत रहेको छ ।

केही दिन अगाडि प्रधानमन्त्री केपी ओलीसँगको भेटमा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले सो संवाद आयोजना गर्न सहयोग गर्न तयार रहेको जानकारी गराएका थिए । साथै, अन्य मुलुकले समेत सो संवादमा चासो देखाएका छन ।

केही दिन अगाडि परराष्ट्रमन्त्री ज्ञवालीले कोप-२६ का अध्यक्ष आलोक शर्मासँगको भेटमा पनि नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा जानकारी गराएका थिए ।

प्रत्येक २ वर्षमा सम्मेलन आयोजना गर्ने सोच सरकारको छ । हिलो संवाद जलवायु परिवर्तन, माउन्टेन र मानवताको भविष्य शीर्षकमा गर्ने सरकारको तयारी छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन ८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?