
काठमाडौं । शुक्रबार आन्दोलन अन्तर्गतको ‘टुँडिखेल मार्च पास’मा भएको नागरिक घोषणा सभामा घोषणा पत्र जारी गरिएको हो।
अधिकारकर्मी जेबी विश्वकर्माले सो घोषणा पत्र वाचन गरी जारी गरेका थिए । घोषणापत्रमा लोकतन्त्रलाई अग्रगामी गति दिन संविधानलाई अध्यावधिक गर्ने, जननिर्वाचित संस्थाहरूलाई उत्तरदायी बनाउने र राज्य संयन्त्रलाई जवाफदेही बनाउने कार्यमा हातेमालो गर्ने उल्लेख गरिएको छ ।
घोषणा पत्रमा मौलिक हकलाई संकुचित बनाउने ऐन, नियम तत्काल खारेज गर्न निरंकुश चरित्रविरूद्ध आवाज उठाउने भनिएको छ ।
त्यस्तै, राजनीतिक आस्था र फरक विचार राखेकै आधारमा कुनै दल, समूह वा अभियानप्रति राज्यले गर्ने निषेध, प्रतिबन्ध, दमन, धरपकड, थुनछेक र हत्या तत्काल बन्द हुनुपर्ने भन्दै लोकतन्त्र व्यवहारमा अनुभूत गर्न गोलबद्ध होऔँ भनी उल्लेख गरिएको छ।
सिप, शिल्प र स्थानीय ज्ञानको सम्मानसहित किसान र श्रमिक वर्गको हक सुरक्षित गर्न ज्ञानलाई श्रमसँग जोड्ने अभियानमा सामेल होऔं भन्ने लगायतका कुराहरू घोषणा पत्रमा उल्लेख गरिएको छ ।