
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले मुलुकको राजनीतिक परिस्थिति अत्यन्तै तरल रहेकाले जतिबेला जेसुकै पनि हुनसक्ने भन्दै तयारी अवस्थामा बस्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।
सो पक्षले विकसित परिस्थितिको आँकलन गर्दै अघि बढ्न र सोही अनुसार रणनीति बनाउनुपर्ने भएकाले पार्टीपंक्ति तयारी अवस्थामा रहनुपर्ने निश्कर्षका साथ आकस्मिक बैठक बोलाउनु परेको जनाएको हो ।
शुक्रबार आकस्मिक रुपमा पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समितिको अनौपचारिक बैठकमा नेताहरुले पुस ५ पछि अहिलेसम्मका घट्नाक्रमबारे व्याख्या गर्दै अबको केही दिनसम्म हुने राजनीतिक घट्नाक्रमको विश्लेषण सुनाएका थिए ।
केन्द्रीय सदस्य निरज आचार्यले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा दुवै अध्यक्षले विश्लेषणसहित आगामी दिनमा चाल्नुपर्ने कदम र योजनाबारे जानकारी गराएको बताए ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा प्रचण्डले आकस्मिक बैठक बस्नुपर्ने कारणबारे सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए ।
त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझैपनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए ।
‘अहिलेको राजनीतिक परिस्थिति अत्यन्तै तरल छ । यो तरल अवस्थामा एक दिनमा ५ वटासम्म खबर आउँछन् । ती खबरहरु केही आधिकारिक पनि हुन्छन् त केही गलत पनि हुन्छन्,’ समसामयिक घट्नाहरुप्रति सङ्केत गर्दै अध्यक्ष नेपालले बैठकमा विश्लेषण गरेका थिए ।
‘कामचलाउ प्रधानमन्त्री केपी ओलीले साम, दाम, दण्ड, भेद चारवटै विधि अपनाइरहेका छन् । उनको यो नीति नेकपा नेता कार्यकर्ताका लागि मात्रै होइन, राज्यका हरेक अंग र निकायसँग यस्तै डिल गरिरहेका छन्,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘आज आन्दोलनको पक्षमा उभिएका मानिसहरु पनि भोलि ओली पक्षमा जाने र फेरि पर्सी यता हामीतिरै फर्कने अवस्था विद्यमान रहेको छ ।’