
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको बताएका छन् ।
शुक्रबार पाँचौँ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन्।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरि मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाइ छ। निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरुको खरिद योजना तयार गरिएको बताएका छन् ।
निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बता ए। निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुनुहुँदैन र निर्वाचन निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्ने कुरामा आयोग सधै अडिग रहेको पनि प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए।
निर्वाचन खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको पनि बताए। आगामी निर्वाचनलाई मितव्ययी बनाउनको निम्ति आयोग सचेत रहेको पनि उनले बताए। यसअनुसार प्रत्येक निर्वाचनहरु अलि खर्चिलो र भड्किलो बन्दै गएको प्रति निर्वाचन आयोगको गम्भिर रुपले ध्यानाकर्षण भएको पनि उनले बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको मूलध्येय स्वतन्त्र, निष्पक्ष, पारदर्शी र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गराउने रहेको उल्लेख गर्दै निर्वाचनसँग सम्बन्धित संघसंस्था, निकाय, व्यक्ति र विशेषगरी राजनीतिक दलहरुको भूमिका अपरिहार्य रहेको बताए ।