२०८० मङ्सिर २१ गते बिहिवार

कस्तो आउला प्रचण्ड-माधव पक्षको प्रतिबद्धतापत्र ?



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भयो। विभाजनले औपचारिकता नपाएपनि दुई समूहबीच निकै तिक्ततापूर्ण कटाक्ष चलिरहेको छ ।

पार्टी विभाजनपछि जनस्तरसम्म पद र कुर्सीको लडाइँकै कारण पार्टी विभाजन भएको सन्देश गएको देखिन्छ । तर, नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले पद र कुर्सीको नभएको दाबी गर्दै आइरहेका छन् ।

प्रचण्ड प्रधानमन्त्री र नेपाल पार्टी अध्यक्ष हुन पार्टीभित्र विवाद भएको तर्क तल्लो तहसम्म सुनिन्छ। तर, प्रचण्ड-माधव समूहले सो भ्रम चिर्न भन्दै कार्यदल नै गठन गरी प्रतिबद्धतापत्र लेख्न थालेको छ।

नेकपा प्रचण्ड–माधव पक्षले प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरी प्रतिबद्धतापत्र लेख्न थालेको हो।

कार्यदलमा स्थायी कमिटीका सदस्यहरू वर्षमान पुन, भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, लीलामणि पोखरेल र बेदुराम भुसाललगायत रहेका छन् ।

प्रतिबद्धता पत्रमा मुख्य गरी तीन विषयहरू समावेश हुने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए। ‘प्रतिबद्धता पत्रमा पहिलो : विगतमा हाम्रो प्रतिबद्धता के थिए, त्यो प्रतिबद्धता पूरा भए/भएन, दोस्रो : अहिलेको परिस्थिति निम्तिनुको कारण के हो? र तेस्रो : अब कसरी जाने भन्ने कुरा आउँछ,’ उनले भने ।

जनताले अहिलेका परिस्थिति कसरी आयो र त्यसबाट अब कसरी पार्टीको लक्ष्य पूरा गर्न सकिन्छ भन्ने विषय समावेश गरेर जनस्तरसम्म लगिने उनले बताए। ‘हामीले समाजवादमा जाने कुरा गरेका छौँ। अब हामीले भए/गरेका गल्तीलाई सच्याएर आफ्नो घोषणापत्रअनुसार चल्ने विषय पनि समावेश हुन्छन्,’ उनले थपे।

पार्टीले जनताको कार्यभारी कति पूरा गर्न सक्यो/सकेन भन्ने समीक्षा पनि प्रतिबद्धता पत्रमा समावेश हुने अर्का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए।

‘अब हामी कसरी अगाडि बढ्छौँ भन्ने विषयमा जनतालाई स्पष्ट पार्न प्रतिबद्धतापत्र ल्याउन लागेको हौँ,’ उनले भने ‘सबै काम समूहगत ढंगले गर्दा सहज हुन्छ भनेर टीम बनाइएको छ।अब हाम्रो नीति, कार्यक्रम र दृष्टिकोणलाई एकसाथ स्पष्ट पारेर लैजान्छौँ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ६ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?