२०८० मङ्सिर २२ गते शुक्रवार

प्रचण्ड-माधव पक्षको ध्यानाकर्षण पत्र : दबाबमा बैठक सार्न लगाएको आरोप



काठमाडौं : बागमती प्रदेशसभाको बैठक माग गर्दै नेकपा प्रचण्ड–माधव पक्षले ज्ञापनपत्र बुझाएको छ।

सभामुख सानुकुमार श्रेष्ठले सूचना निकालेर अनिश्चितकालका लागि बैठक स्थगन गरेपछि बैठक माग गर्दै दलकी नेता अष्टलक्ष्मी शाक्यले ध्यानाकर्षण पत्र बुझाएकी हुन्।

उक्त बैठक बिनासल्लाह स्थगन भएको भन्दै तत्काल बैठक राख्न माग गरिएको छ। बैठक सन्चालन गर्ने व्यवस्था मिलाई अविश्वासको प्रस्तावलाई छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उनीहरूले माग गरेका छन्।

सभामुखले नैतिक दायित्व पूरा गर्ने विषयमा स्वयं मुख्यमन्त्रीले पहल लिनुपर्नेमा सभामुखलाई समेत दबाब दिएको भन्दै घोर आपत्तिसमेत जनाएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको प्रचण्ड–माधव समूहले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि आजका लागि बैठक तय गरिएको थियो।

यसअघि गत माघ १९ गतेका लागि तोकिएको बैठक पनि अघिल्लो राति सूचना जारी आज फागुन ५ गतेसम्मका लागि स्थगित गरिएको थियो। बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको थियो।

प्रदेशसभामा नेकपाका ८०, कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २ र स्वतन्त्र १ गरी ११० सदस्य छन्। मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव फेल गराउन ५६ मत आवश्यक पर्दछ।

तर, उनको पक्षमा ३५ मत मात्र रहेकाले अब २१ मत आवश्यक छ। प्रचण्ड–माधव पक्षका ४५ सांसदले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन्। प्रस्ताव पास गराउन उक्त समूहलाई ११ मत आवश्यक पर्दछ।

पुस १० गते प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्ताव माघ ९ गते प्रदेशसभामा टेबुल भएको थियो। त्यसयता प्रदेशसभा बैठक पटकपटक स्थगित हुँदै आएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?