२०८० जेष्ठ १९ गते शुक्रवार

मौका कुरेर बसेका दिनेशले चाउचाउ खानै नपाई भागरथीको हत्या गरे



धनगढी : बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ ।

प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएको र पहिल्यै बाटोमा कुरेर बसेको खुलेका हो।

दिनेश र भागरथी दिदीभाइ हुन्। भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा पढ्थे। दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा । तर, माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

​सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरू बताउँछन् ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।

उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन्। मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ ।

तर, हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ। घटना २१ गते दिउँसो २:४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ। अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो ।

उनलाई अभियुक्तको रुपमा बुधबार दिउँसो करिब २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी बताएको छ । पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘म बाटोमा पहिल्यै बसेको थिएँ। भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्। सुरुमा मैले उनको किताब फालेँ। त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ। उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ।’

उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो। बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दिएको छ । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन्। त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए।

भागरथी हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो।

प्रकाशित मिति : २०७७ फाल्गुन ५ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?