
पोखरा । गण्डकी प्रदेश सरकारले मंगलबार तेस्रो वार्षिकोत्सव मनाएको छ ।
तीन वर्ष अघि प्रदेश ४ (हाल गण्डकी प्रदेश) को पहिलो मन्त्रिपरिषदको बैठकले दुई वर्षभित्र उज्यालो प्रदेश बनाउने र सबै घरधुरीमा आधारभूत खानेपानी पुर्याउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदको पहिलो बैठकले ५ वर्षभित्र पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण, अत्याधुनिक क्यान्सर, मुटु र मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्नेसहित महत्वपूर्ण ५ वटा निर्णय गरेको थियो ।
तर, घोषणा गरेको तीन बर्ष बितिसक्दा पनि प्रदेश सरकारले सबै घरमा उज्यालो र खानेपानी पु¥याउन सकेको छैन । पहिलो बैठकले गरेको निर्णय नै अहिले प्रदेश सरकारलाई गलपासो सावित भएको छ ।
तीन वर्षसम्म पनि उक्त प्रतिबद्धता पूरा हुन नसकेको अवस्थामा प्रदेश सरकारले यो लक्ष्य आउँदो वर्ष पूरा हुने जनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म गण्डकीमा खानेपानीका २४३ परियोजना सम्पन्न हुने र ७५ हजार ५६२ घरमा धारा जोडिने सरकारको दावी छ ।
लक्ष्य पूरा गर्न १२६ परियोजना संचालनमा रहेको भन्दै प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरिधारी शर्मा त्यसपछि थप डेढ लाख जनताले आधारभूत खानेपानी पाउने बताउँछन् ।