२०८० चैत्र १५ गते बिहिवार

प्रेरक कथाः सुख शान्ति चाहनुहुन्छ भने अरुको खराब पक्ष होइन, राम्रो पक्षमा ध्यान दिनहोस्



एजेन्सी । पुरानो समयमा एक व्यक्ति आफ्ना छिमेकीहरुको सुख देखेर असाध्यै डाहा गर्दथे । उनले वरिपरिका सबैको कुरा काट्ने गर्दथे । अरुको कुरा काट्ने बानीका कारण उनी सधैं अशान्त रहन्थे । उनको यो बानीका कारण छिमेकी पनि उनीसँग राम्रोसँग कुरा गर्दैनथे ।

एकदिन उनी गाउँको मन्दिरमा गए र भगवानसँग प्रार्थना गर्न थाले । आफूले किन सुख–सुविधा पाइनँ भनेर ती व्यक्तिले भगवानलाई समेत नानाथरी भनिरहेका थिए । भगवान प्रकट हुँदा ती अशान्त व्यक्तिले भगवान समक्ष उनको जीवन सुखी हुन र मन शान्त रहनका लागि कुनै तरिका बताइदिन आग्रह गरे ।

ती व्यक्तिले भगवानलाई आफू सफल हुन चाहेको, सुख सुविधा चाहिएको र आफ्नो सबैले प्रशंसा गरोस् भन्ने चाहेको बताए । भगवानले ती व्यक्तिलाई दुई थैली दिँदै भने, ‘एउटा थेलीमा तिम्रा छिमेकीका नकारात्मक पक्ष छन् र अर्कोमा तिम्रो नकारात्मक पक्ष छन् ।’

‘छिमेकीको नकारात्मक पक्ष भएको थैलीलाई तिमीले पिठ्यूँ पछाडि झुण्ड्याउ र आफ्नो नकारात्मक पक्ष भएको थैलीलाई अगाडि झुण्ड्याउ । आफ्ना नकारात्मक पक्षलाई बारम्बार खोलेर हेर । यस्तो गर्छौ भने तिमी सुखी हुन्छौ ।’

ती व्यक्तिले दुबै थैली उचाले । तर उनले एउटा गल्ती गरे । उनले आफ्नो नकारात्मक पक्ष भएको थैली पिठ्यूँमा झुण्ड्याए र छिमेकीको नकारात्मक पक्ष भएको थैली अगाडि झुण्ड्याए । अब ती व्यक्तिले दुबै थैली लिएर बाहिर निस्कियो र छिमेकीको नकारात्मक पक्ष भएको थैली आफैं पनि हेर्दथ्यो र अरुलाई पनि देखाउँथ्यो । आफ्नो नकारात्मक पक्ष त उनले पिठ्यूँ पछाडि राखेका थिए ।

भगवानले जे भनेका थिए, त्यसको ठिक विपरित हुनथाल्यो । किनभने उनले काम नै उल्टो गरेका थिए । उनको जीवनमा थप दुःख र अशान्ति बढ्यो । ती व्यक्ति थप चिन्तामा पर्न थाले । उनी उक्त मन्दिरमा पुनः गए र भगवान् प्रकट भए । व्यक्तिले भगवानसमक्ष आफ्नो दुःख थप बढेको बताए ।

भगवानले भने, ‘तिमीले आफ्नो नकारात्मक पक्षलाई नै पिठ्यूँमा झुण्ड्याएका छौ र अरुको नकारात्मक पक्षलाई अगाडि । आफ्नो नकारात्मक पक्ष पिठ्यूँमा झुण्डिएका कारण तिमीले त्यो देख्न सकेनौं र अरुको नकारात्मक पक्ष अगाडि हुँदा तिम्रो पूरा ध्यान अरुको नकारात्मक कुरामा मात्रै केन्द्रीत भयो । त्यसैले जीवन अशान्त भयो । मैले तिमीलाई आफ्नो नकारात्मक पक्ष अगाडि राख्न र अरुको पिठ्यूँमा राख्न भनेको थिएँ । अर्थात्। आफ्ना खराब पक्ष हेरिराख र त्यो सुधार्ने कोसिस गर । अरुको खराब पक्षलाई पछाडि राख्नुको अर्थ तिमीले अरुको कमी कमजोरीमा ध्यान दिनु हुँदैन । अरुको सकारात्मक पक्षलाई ध्यान देउ र आफ्नो नकारात्मक पक्ष ठिक गर्ने कोसिस गर्यौ भने तिम्रो जीवनमा सुख शान्ति स्वतः आउनेछ ।’

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?