
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालको तीन वर्ष पूरा भएको छ । नेकपाको सरकार दुई तिहाइको सरकारको रटान लगाउँदै आएको थियो । यद्यपि पछिल्लो घटनाक्रमले नेकपा दुई ध्रुवमा विभाजित छन् ।
पार्टी एकतासँगै ५ वर्षसम्मका लागि स्थिर सरकार बन्ने अपेक्षा जनताले गरेका थिए । तर पार्टी अहिले अन्तर कलहमा फसेको छ
। दोहोरो आर्थिक वृद्धि हुने, लाखौँ युवाले रोजगारी पाउने, देशमा समृद्धि आउने, कोही भोकै मर्न नपर्ने जस्ता विषय सरकारको नीति तथा कार्यक्रममा पनि समेटियो । नेकपाले चुनावी नतिजा आफ्नो हातमा पार्न आर्थिक समृद्धिको नारा र निकै महत्त्वाकाङ्क्षी घोषणपत्रको सहारा लिएको थियो ।
उच्च आर्थिक वृद्धिदर, सुखी नेपाली समृद्ध नेपाल जस्ता गुलिया नाराको फेरो समातेको नेकपा सरकारको तीन वर्षले के साँच्चै समृद्धिको गोरेटो कोरेको छ त ? अथवा नेकपाले भनेजस्तै उच्च आर्थिक वृद्धिका लागि सरकारले विकासका तमाम काम पूरा गरेको छ त ? हामीले विज्ञको नजरमा प्रधानमन्त्रीका तीन वर्षे कार्यकालमा आर्थिक समृद्धिको अवस्था कस्तो छ भनेर बुझ्न खोजेका छौँ ।
रातोपाटीको जिज्ञासामा अर्थविद् केशव आचार्य प्रधानमन्त्रीको कार्यकालका उपलब्धिको लामो सूची प्रकाशित सरकारकै मिडियाले गरे पनि सोहीअनुसारको काम नभएको तर्क गर्छन् । जतिबेला चुनावी घोषणापत्र निस्कियो सो बेला आफू निकै उत्साहित भएको तर कार्यान्वयनप्रति पनि उत्तिकै सशङ्कित बनेको आचार्यले आफ्नो अनुभव सुनाए ।
त्यतिबेलै आफूले कार्यान्वयन नै हुन नसक्ने तर कार्यान्वयन भए देशले काँचुली फेर्ने विभिन्न सञ्चार माध्यममा अभिव्यक्ति समेत दिएको आचार्य बताउँछन् । सरकारले के गर्नुपर्छ भनेर सोचेको तर कसरी गर्ने भन्ने भिजन नभएपछि उसले आफ्नै घोषणाअनुसारको काम गर्न नसकेको उनको आरोप छ ।