
रामचन्द्र न्यौपाने
डोल्पा ३ फागुन,
हिमाली जिल्ला डोल्पाका दलित समुदायका महिलाहरुलाई छाक टार्नै मुश्किलहुने गरेको छ ।
अशिक्षा र चरम गरिबिले थलिएका उनिहरुलाइ हरेक दिन छाक टार्ने कुरालेनै पिरोल्ने गरेको हो ।
जिल्लाका अधिकाशं दलित समुदायको आर्थिक अवस्था कमजोर भएकाले दैनिक गिट्टी कुट्ने ढुङ्गा बोक्ने,मल बोक्ने लगायका काम गरेर पनि विहान बेलुकीको छाकटार्न धौ–धौ पर्ने गरेको उनिहरुको गुनासो छ ।
“पढ्ने लेख्ने कलिलै उमेरमा विहे गराइदिए,घरमा कसैको रोजगार छैन्,एक छाक टार्न पनि दश पटक सोच्नुपर्ने बाध्यता छ”त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने कलमी सार्कीले गुनासो गरिन् ।
“बिहान बेलुकी छाक टार्नकैलागि दैनिक मजदुरी नगरी सुख छैन्,एक छाक खान र एकसरो लगाउन रातदिन नभनि ढुङ्गा माटोसँग खेल्नुपर्ने बाध्यता छ ।”
गरिबिकै कारण औषधि उपचार गर्ने पैसो नपाएर घर नजिकै बस्ने एक जना छिमेकी महिलाको आँखै अगाडि निधन भएको भन्दै सार्कीले दुख व्यक्त गरिन् ।
दलितलाइ ढुङ्गा कुटेर पनि खान नपुग्ने र पढेलेखेकाहरुले पनि जागिर नपाउने अवस्था अझै नछुटेको स्थानीय गिता सार्कीले बताइन् ।
त्यसैगरि अर्की रुप्सी सार्कीको पिडा पनि उस्तै छ ।खाइ नखाइ अर्काको मजदुरी गरेर पढाएका छोराछोरी पनि जागिर नपाएर अर्काकै मजदुरी गर्न बाध्य भएको बताइन् ।
“बाबु आमाको जस्तै दैनिक मजदुरी गरेर खानुपर्ने अवस्था नआवस भन्दै शरिरलाइ रातदिन पिसेरे छोरालाई कक्षा १२ पास गराए,अहिले त्यहि छोरो सानोतिनो जागिर पनि नपाएर मजदुरीमै लाग्न बाध्य भयो,दलितलाइ पढेलेखेर पनि के काम छ”उनले गुनासो गरिन ।
दुर्गम ठाउँका पढेलेखेका दलितहरु पावर र पहुँच नभएकै कारण जागिरको आसा मारेर मजदुरीमै लाग्न बाध्य हुने गरेको उनको भनाइ छ ।
“पाखुरामा बल हुन्जेल त दैनिक मजदुरी गरेर आफु र आफ्नो परिवारको पेट पालौँला,भोलि बुडेसकालमा कसरी छाक टार्ने त्यहि कुराको ठुलो पिरलो छ”उनले भनिन् ।
कलमी र रुप्सी प्रतिनिधिपात्र मात्र हुन् ।जिल्लाका जुफाल दुनै, त्रिपुराकोट, ल्हा लगायतका विकट गाउँबस्तीमा बसोबास गर्ने अधिकाशं महिलाहरुको पिडा एउटै हो ।
सानै उमेरमा विहे गरेर धेरै सन्तान जन्माउने कारणले अधिकाशं महिलाहरुलाइ पाठेघर खस्ने समस्या समेत देखिएको दलित अगुवा बमबहादुर सार्कीले बताए ।
कमजोर आर्थिक अवस्था भएकै कारण दुर्गमका दलित महिलाहरु उपचार गनुर्को सट्टा रोग लुकायर बस्ने गरेको उनको भनाइ छ ।
“जिल्लाको अधिकाशं दलितको जग्गा केही टुक्रामात्र छ,त्यसमा उत्पादन पनि नगन्यमात्र हुन्छ,त्यसैले पनि कतिपय दलितहरु अझै पनि माथिल्लो जातसँग खलो थापेर पुस्ता धानिरहेका छन्”उनले भने ।
गाउँमै सरकार भएपनि दलित महिलाहरुको जीवनस्तर उकास्नकालागि अहिलेसम्म कसैले पनि सहयोग नगरेको सार्कीको भनाइ छ ।
गरिबिले ग्रस्त जीवन झेल्दै दलित महिलाहरुको जीवनलीला समाप्तहुने गरेको दलित अगुवाहरुको दाबी छ ।
देशमा जति व्यवस्था परिवर्तन भएपनि ग्रामिण भेगका दलितहरु अझै पनि रोग,भोग र सोखले ग्रस्त भएको उनिहरुको भनाइ छ ।