२०८० चैत्र १६ गते शुक्रवार

प्रणय दिवस विशेष : प्रेमको आयम र अनुराग



प्रेम शब्द जति द्विविधाग्रस्त छ, उतिनै गाह्रो छ यसको आयमलाई बुझ्न पनि । मान्छेका भाषामा यो जस्तो अर्को शब्द छैन सायद । प्रेम सम्बन्धमा जुन गलत बुझाई छ, त्यसको विराट रुप नै यस जगतको उपद्रव, हिंसा, कलह, द्वन्द्व र संघर्ष हो । त्यसैले जरुरी छ, प्रेमलाई सही रुपमा बुझ्न ।

जब हामी जीवन जिउँछौं, प्रत्येकलाई यो अनुभव हुन्छ कि सायद जवनको केन्द्रमा प्रेमको आकंक्षा र प्रेमको प्यास, प्रेमको प्रार्थना छ । जीवनको केन्द्रमा अरु खोज्दै जाने हो भने प्रेमको अतिरिक्त अरु केहीपनि पाइँदैन ।

समस्त जीवनको केन्द्रमा एकै प्यास छ, एकै प्रार्थना छ, एकै चाहना छ । त्यो चाहना हो, प्रेमको ।

र, त्यो चाहना असफल भएमा जीवन व्यर्थ देखिनेछ । अर्थहीन । उदासी थाहा पाउनु, चिन्ता थाहा पाउनु कुनै आश्चर्य होइन । जीवनको केन्द्रिय प्यास नै सफल हुन पाउँदैन । न त हामी प्रेम दिन सक्छौं, न उपलब्ध गर्न नै । प्रेम जब असफल हुन्छ, प्रेमको बिज जब अंकुराउन पाउँदैन, तब सारा जीवन व्यर्थ–व्यर्थ हुन्छ । सारहीन लाग्न थाल्छ ।

जीवन सारहीन हुनु भनेकै प्रेम विफल हुनु हो ।

जब प्रेम सफल हुन्छ, तब जीवन सार बन्छ । प्रेम विफल भएमा जीवन प्रायोजनहीन लाग्न थाल्छ । प्रेम सफल भएमा जीवन एक सार्थक, कृतार्थता र धन्यतामा परिणत हुन्छ ।

यी विचार महान दार्शनिक रनजीश अर्थात ओशोको हो । उनी भन्छन्, ‘हामीले जीवनमा गर्ने सारा प्रयासको केन्द्रमा प्रेम छ । चाहे धन कमाउने कुरा होस् वा यश आर्जन गर्ने, चाहे विलासिता होस् वा सन्यास, सबैको एउटै खोजी हो प्रेम ।

सारमा उनी भन्छन्, ‘सायद तिमीलाई थाहा नहोला । तर मान्छेको जीवनको सारा उपक्रम, सारा श्रम, सारा दौड, सारा संघर्षको अन्तिम रुप प्रेममा केन्द्रित छ ।’

फेबु्रअरी १४ । अर्थात प्रणय दिवस । भ्यालेनटाइनलाई प्रेमसँग जोडेर व्याख्या गरिएपनि यसको आयम अरु फराकिलो छ । खासमा यो शब्दले निर्भिकता, महानता, बल र वीरताको व्यापक अर्थ बोकेको छ ।

भ्यालेनटाइन मूलत ल्याटिन शब्द भ्यालेन्सबाट आएको हो ।

तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस । उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ । त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन ।’

तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन । उनले फरमानको विरेध गरे । सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए । जागरुक गराए । यहि क्रममा केहि अधिकारी र सैनिकले बिवाह गरे ।

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम र बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो । उनलाई कालकोठरीमा बन्दी बनाइयो ।

आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो । फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे । र त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन ।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए । मृत्युअघि उनले जेलरलाई भने, ‘म मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु ।’

राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए । यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले भ्यालेनटाइन डे मनाउन सुरु गरे ।

प्रेमका निम्ति उनले जुन त्याग र समर्पण गरे, त्यसैको सम्मानमा ‘भ्यालेनटाइन डे’ अर्थात प्रणय दिवस मनाउन थालियो ।

सुरुवाती दिनमा विधिवत् रुपमा भ्यालेनटाइन डे मनाइन्थ्यो । त्यसबेला प्रेमी–प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो । त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो । अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको छ । पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै भ्यालेनटाइन डेमा हो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?