२०७८ साउन १८ गते सोमवार

ललिता निवास प्रकरण : सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईबारे प्रमाण बुझ्न आदेश



काठमाडौँ — ललिता निवास प्रकरणमा नेता माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई विपक्षी बनाई दायर गरिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रमाण बुझ्न आदेश गरेको छ ।

रिटमाथि आइतबार सुनुवाइ गर्दै न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र हरि फुँयालकाे इजलासले उक्त आदेश गरेको हो ।   ललिता निवास काण्डमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई किन मुद्दा नचलाएको भनी वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले रिट निवेदन दायर गरेका थिए । अब अख्तियारले उक्त कागजात पठाउनुपर्नेछ ।
मूल मुद्दा भने विशेष अदालतमा विचाराधीन छ । वरिष्ठ अधिवक्ता न्यौपानेको रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत विपक्षी बनाइएको छ । नेपाल २०६६ मा र भट्टराई २०६९ मा प्रधानमन्त्री थिए ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन २ गते आइतवार