
काठमाडौं । डाेल्पाली युवा लेखक प्रेमबहादुर बाेहराकाे पहिलाे कृति ‘कोग्ले’ काे विमाेचन भएकाे छ।
राजधानी काठमाडौंमा शुक्रबार आयोजित विमाेचन कार्यक्रममा लेखक राधा पौडेल,राजनीतिज्ञ प्रशान्त सिंह, कवि प्रणिका कोयूकाे उपस्थितिमा ‘कोग्ले’ सार्वजनिक गरिएको हाे ।
कार्यक्रममा बाेल्दै लेखक राधा पाैडेलले कृति उत्कृष्ट रहेकाे र कृति पढेपछि कर्णाली र डाेल्पालाइ नजिकबाट जान्न पाइने बताउनुभयाे ।
त्यतिमात्र नभई कर्णालीमा एक युवा लेखककाे संख्या बढेकाे समेत बताउनुभयाे ।
संस्मरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि गरिएको संघर्ष, एसएलसीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली समेटिएकाे लेखक बाेहाेराले बताए ।
काेग्ले “आफु, आफ्नो ठाउँ र आफु वरीपरीको कुराहरुलाई हेर्ने दृष्टिकाेण अर्थात नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने थाहा अर्थात अनुभूतिको कथा हो उनले भने ।
त्यतिमात्र नभइ बाल्यकालमा पाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हाे ।
डोल्पाको माझफालमा जन्मिएका प्रेमबहादुर बोहरा सामाजिक अभियन्ता हुन् । सन् २००८ देखि सामाजिक काममा संलग्न छन् । शिक्षा नेपालका संस्थापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता उनी कर्णाली समाजका अध्यक्ष समेत हुन् । उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । सांग्रीला बुक्सबाट प्रकाशित संस्मरणात्मक कृति कोग्ले बजारमा उपलब्ध छ ।