
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा भित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको बताएका छन् ।
आज मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको बिषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिको निमित्त झगडा गरेर मुलुकलाई बर्बादिको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश ब्यक्त गरे ।
नेकपा र नेपाली काङ्ग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस किङ्कर्तब्य बिमुख र निरीह रहेको समेत बताए । मुलुकमा अहिले भ्रष्टाचार , कुशासन, धर्मपरिबर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउदै लोकतन्त्रको लागि अब कहिल्यै लड्नुपर्दैन, राजा हटायसी लोकतन्त्र मजबुत हुन्छ भन्नेहरु नै आज लोकतन्त्रमाथी खतरा भयो भन्दै कराउदै हिडेको बताए ।
राजसंस्था बिकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यबहार र चरीत्रमा प्रजातान्त्रिक हुनुपर्नेमा जोड दिए । धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२र०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे । राप्रपालाई काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रबादी शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गरे ।
कार्यक्रममा बोल्दै केन्द्रीय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारिले सत्ताको छिनाझप्टिले मुकुक र जनताले दुख पाउनु दुर्भाग्यपूर्ण भएको बिचार ब्यक्त गरे । कार्यक्रममा नेताहरु रामहरि न्यौपाने , बालकुमारी डल्लाकोटी, शुक्र प्रजा,नरहरी सुवेदी , मनोज थापा, सर्ब सिं मोक्तान लगायतले बोलेका थिए । आजै हेटौंडा –९ मा आयोजित कार्यक्रमलाई पनि थापाले सम्बोधन गरेका थिए ।