२०८० असोज ९ गते मङ्गलवार

भागरथी हत्या प्रकरण: डीआईजी सुवेदी ६ दिनदेखि खोचलेकमा के गर्दैछन् ?



धनगढीः  बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया किशोरी भागरथी भट्टको न्यायका लागि विद्यार्थीहरु घटना सार्वजनिक भएकै दिनदेखि सडकमा छन् ।

बैतडीसहित प्रदेशका ९ वटै जिल्लामा दैनिकजसो भइरहेका प्रर्दशनमा सहभागी विद्यार्थीहरुको एउटै माग छ, ‘भागरथीलाई न्याय देउ ।’

निर्मला हत्या प्रकरण जस्तो नागरिक समाज, महिला अधिकारकर्मी र राजनीतिकर्मी सडकमा नदेखिएपनि सम्बद्ध निकायको ध्यानाकर्षण गराउन दबाबमुलक कार्यक्रममा विभिन्न किसिमले सहभागिता जनाइरहेका छन् ।

राजनीतिक दलका विद्यार्थी संगठन र युवा संगठनहरु भने दबाबमुलक कार्यक्रममा देखिएका छन्। राजनीतिक दलले विज्ञप्ती जारी गरेर भागरथीका हत्याराको पहिचान गरि दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिसकेका छन् ।

संघीय राजधानी काठमाडौँमा पनि केही प्रर्दशन भइरहेका छन् । यस्तो परस्थितीमा सुदूरपश्चिम प्रदेशको कमाण्ड सम्हालिरहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तमराज सुवेदी स्वयंम ६ दिनदेखि बैतडीमै छन्।

बैतडीको पनि भागरथीको हत्या भएकै ठाउँमा बसेर डीआईजी सुवेदी अनुसन्धानमा आफै खटिएका छन्। धनगढीको बसाँइ छोडेर स्थानीय खोचलेक प्रहरी चौकीकै क्वाटरमा बसिरहेका डीआईजी सुवेदी त्यहाँ के गर्दैछन् ?

‘डीआईजी सापले अनुसन्धानमा खटिएको टोलीलाई आवश्यक निर्देशन दिने, दैनिक अपडेट लिने काम गरिरहनुभएको छ,’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह भन्छन्, ‘स्थानीय जनप्रतिनिधि र आम नागरिकसँग बेला बेला छलफल गर्ने, अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुलाई प्रोत्साहित गरिरहनु भएको छ।’

डीआईजी सुवेदी भागरथीको हत्या प्रकरणपछि आइतबार खोचलेक पुगेका थिए। त्यसअघि प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेको नेतृत्वमा अनुसन्धानमा सघाउन डीआईजी सुवेदीले प्राविधिक टोली खटाएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीएसपीको नेतृत्वमा पनि अनुसन्धानका लागि छुट्टै टोली खटाइएको छ । गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी दोगडाकेदार गाउँपालिका ७ की भागरथी बिहीबार हत्या गरेको अवस्थामा स्थानीय लबलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।

प्रहरीले हत्यामा संलग्न भएको आशंकामा दर्जनौ व्यक्तिहरुमाथि अनुसन्धान गरिसकेकाले केही सिमित व्यक्तिमाथि सुक्ष्म अनुसन्धान गरि प्रमाण भिडाउने काम भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?