
काठमाडौं । पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई सशस्त्र प्रहरी जवान घाइते भएका छन्।
सशस्त्र प्रहरीबलका प्रवक्ता डिआइजी राजु अर्यालका अनुसार पर्साको ओरिया खोलामा नेपालतर्फको भू-भागमा आएर वालुवा उत्खनन् गर्ने भारतीय बालुवा तस्करलाई नियन्त्रणमा लिन खोज्दा दुई जवान घाइते भएका हुन् ।
‘ स्थानीय ओरिया खोलामा बालुवा तस्करीमा आएको समूहलाई नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरीका दुई जवान घाइते भएका छन्। अहिले उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ’, डिआइजी अर्यालल भने ।
घाइते हुनेमा २४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव रहेका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपट्टी र पिडारीगुठीको संयुक्त टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिने क्रममा झडप भएको थियो। अहिले त्यसक्षेत्रमा सशस्त्र प्रहरीले थप गस्ती बढाएको छ। घाइतेहरुको अवस्था सामान्य रहेको छ।