
काठमाडौं : नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि शंखमुलकाे अवस्था तनावयुक्त बनेको छ ।
झाँक्रीको निवासमा प्रहरी पुगेको खबर सार्वजनिक भएलगत्तै नेकपाका कार्यकर्ताहरू शंखमुलमा केन्द्रित भएका छन्। उनीहरूले प्रधानमन्त्री र प्रहरी प्रशासनका विरुद्ध चर्का नाराबाजी गरिरहेका छन् ।
महानगरीय अपराध महाशाखाले सोधपुछ गर्न भन्दै बोलाएपछि झाँक्री नगएपछि उनलाई पक्राउ गर्न प्रहरी निवासमै पुगेको हो। अहिले शंखमुलमा प्रहरीले थप शक्ति पठाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई सोधपुछका लागि बोलाएको थियो ।
गोरखाको एक कार्यक्रममा नेकपा प्रचण्ड–माधव पक्षकी नेतृ तथा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे टिप्पणी गरेकी थिइन् । त्यस टिप्पणीलाई लिएर अखिल नेपाल महिला संघ (अनेमसंघ)ले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै झाँक्रीलाई पक्राउ गरी कारबाही माग गरेको थियो ।