२०७७ फाल्गुन २३ गते आइतवार

ठडियो धरहराको २१ तला, एक तलामात्र निर्माण गर्न बाँकी



काठमाडौ । १२ वैशाख २०७२ को भूकम्पले नौतले धरहरा ध्वस्त बन्यो । पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै २२ तले नयाँ धरहरा बन्दै छ । जसमध्ये २१ तलाको ढलान सकिएको छ । अब एक तला ढलान गर्न मात्र बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरिरहेको धरहराको काम अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।

‘धरहराको हाल २१ तला निर्माण भइसकेको छ भने १९ तला प्लास्टरको काम भएको छ । ट्रिपल बेसमेन्ट, संग्रहालय निर्माणलगायतको काम भइरहेको छ,’ प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरले भने, ‘९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।’ भुइँतलासहित २४ तला हुने धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम पनि आधा सकिएको छ । जसमा चार सयवटा सानो गाडी र सात सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । लिफ्ट राख्ने काम पनि सुरु भएको छ । कोरोनाका कारण कामले गति लिन नसक्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । २२ टुक्रामा परिणत भएको गजुरलाई पनि पहिलाकै जस्तै बनाउन गत सोमबारदेखि काम थालिएको छ । जुन गजुरमा सुनको जलपसमेत लगाइनेछ ।

दुई वर्षमा निर्माण सम्पन्न हुने गरी २०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । सम्झौताअनुसार गत २० असोजभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि प्राधिकरणले नौ महिना समय थपेको छ ।

गत असोजमा प्राधिकरणले नौ महिना समय थप गरिदिएको थियो । तर, थपिएको समयमा पनि काम सम्पन्न गर्न चुनौतीपूर्ण रहेको विज्ञ इन्जिनियर मानन्धरले बताए । ‘पाँच महिनामा काम सम्पन्न गाह्रो छ । बगैँचा बनाउने, बाटो बनाउनेदेखि काम अझै बाँकी छ,’ उनले भने, ‘दिनको दुई, तीन सिफ्ट काम गरेर, रातारात चार–पाँच सय कामदार राखेर गरियो भने काम सकिएला, होइन भने अहिले भएकोजस्तो सयजना कामदार राखेर गर्दा समयमा काम सम्पन्न हुँदैन ।’ धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । धरहरा निर्माण कार्यमा लकडाउनअघि कुल तीन सय ५० जनाले काम गरेका थिए । लकडाउन अवधिमा त्यो संख्या घटेर २०-२५ जनामा सीमित भएको थियो ।

यस्तो बन्दै धरहरा 
धरहरा ऐतिहासिक सम्पदा भए पनि यसको पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा हुँदै छ । यहाँ तीनतले सवारी पार्किङ स्थल निर्माण गरिनेछ । सुन्धारा, न्युरोड, रत्नपार्क क्षेत्रमा आउने गाडी यहाँ सशुल्क पार्किङ गर्न सकिनेछ । न्युरोड क्षेत्रको पार्किङ समस्या हल गर्न यो सुविधा थप्न लागिएको प्राधिकरणले बताएको छ । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोश्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गर्ने गरी लिएको थियो । जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा भएको धरहराले ४२ रोपनी ओगटेको छ । प्राधिकरणबाट पारित डिजाइनअनुसार गोश्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहनेछ । भित्र छिरेपछि दुईतला भूमिगत हुनेछन् । भूमिगत तलाबाट लिफ्ट चढेर धरहराको माथिल्लो भागमा पुग्न सकिनेछ ।

पर्यटकको सुविधा निम्ति दुईवटा लिफ्ट राखिनेछ एउटा लिफ्टले आठजनालाई धरहरा चढाउनेछ भने अर्कोले आठजना ओराल्नेछ । आकस्मिक अवस्थाका लागि खुड्किला पनि हुनेछ । नयाँ बन्ने धरहराको संरचना अपांगतामैत्री पनि हुनेछ । धरहराको २०औँ तलामा ‘अब्जरभेसन डेस्क’ निर्माण गरिनेछ । यहाँबाट काठमाडौं उपत्यका दृश्यावलोकन गर्न सकिनेछ । बीस तलाबाट धरहराको टुप्पासम्म जान प्रयोग गरिने लिफ्ट पारदर्शी हुनेछ । धरहराको १६ फिट अग्लो गजुर प्राधिकरणले आफ्नो संरक्षणमा राखेको छ । यो गजुर नयाँ धरहरामा पनि प्रयोग गरिनेछ । धरहरालाई हरियालीयुक्त बनाउन एउटा बगैँचा बनाइनेछ । बगैँचालाई ‘ह्यांगिङ गार्डेन’ नाम दिइएको छ । धरहरा पुनर्निर्माण क्रममा सुन्धारा पनि मर्मत गरिने प्राधिकरणले जनाएको छ । डिजाइनअनुसार धरहरा प्रवेश गर्ने मुख्य ढोकामा पानीको अत्याधुनिक फोहोरा बनाइनेछ । यहाँ संग्रहालयसमेत निर्माण गर्ने योजना छ । संग्रहालयमा पुराना सिक्का छाप्ने मेसिन राखिनेछ । धरहरामा राखिने पानीको फोहोरा ५० फिट अग्लो हुनेछ । यसको १०औँ तलामा मिनी थिएटर रहनेछ । जहाँ प्रोजेक्टरबाट धरहराको इतिहासबारे भिडियो देखाइनेछ ।

सबैले हात झिकेपछि प्राधिकरणलाई निर्माणको जिम्मा
विवादबीच सुरु भएको धरहरा निर्माण कसले गर्ने भन्ने विषयमा हानथापजस्तै भयो । सुरुमा धरहरा निर्माण नेपाल टेलिकमले बनाउने गरी प्रक्रिया अघि बढाइएको थियो । २९ असार ०७३ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागसँगको समन्वयमा धरहरा निर्माणको गर्ने जिम्मा टेलिकमलाई दिइएको थियो । टेलिकमले धरहरालाई व्यावसायिक रूपमा सञ्चालन गर्ने प्रस्ताव गरेपछि विभागले अस्वीकार ग¥यो । टेलिकमले हात झिकेपछि सरकारले धरहरा निर्माण जिम्मा प्राधिकरणलाई दिइएको हो ।

प्राधिकरणले २१ वैशाखमा टेन्डर आह्वान गरेको थियो । सिआइसिओ–कालिका–रसुवा जेभी, जिआइइटिसी–रमन जेभी, जेडआइइसी–लामा जेभी, सिआरफाइभसिइसी–स्वच्छन्द जेभी, आशिष कन्ट्रक्सन र कुमार सिएफइसी गरेर ६ निर्माण कम्पनीले आवेदन दिएका थिए । यीमध्ये आशिष कन्स्ट्रक्सन प्राविधिक मूल्यांकनबाटै बाहिरिएको थियो । र, रमन कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको थियो । १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए । उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ । त्यतिवेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो । त्यसपछि नौ तला पुनर्निर्माण गरिएको हो ।

प्रकाशित मिति : २०७७ माघ २८ गते बुधवार