२०७७ फाल्गुन २३ गते आइतवार

कर्णाली करिडोर अर्थात् समृद्धि मार्ग



डा. दीपेन्द्र रोकाया मृत्युमार्गलाई समृद्धि मार्गमा फेर्नु छ र यसमा आवश्यकताका आधारमा संघ र प्रदेशको साझेदारीमा स्तरोन्नति गर्नुपर्नेछ

कर्णाली करिडोर नामकरण गरी ट्र्याक खोल्न थालेको २१ वर्ष बितिसकेको छ । यस विषयमा धेरै मञ्चमा पैरवी गर्नुका साथै लेख्ने–बोल्ने गरिएको छ । तैपनि हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । यस सडक खण्डका सबै ठाउँमा सडक खन्नुअघि कम्तीमा ५–६ पटक उँधोउँभो गरेको छु । सडक बन्न थालेपछि तीनपटक हिल्सा–सिमकोट सडकखण्ड र यही माघको पहिलो हप्ता हुम्लाको सिमकोटदेखि प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरसम्म स्थलगत यात्रा गरियो । यात्रामा राज्यको व्यवहार र कर्णालीवासीको कष्टकर जीवन प्रस्ट देखियो ।

करिडोरले तानेको डोरो : कर्णाली करिडोरको कुल लम्बाइ ६ सय ८२ किलोमिटर छ । यो सडक बाँकेको जमुनाहदेखि सुर्खेत, कालिकोट, बाजुरा, हुम्लाको सिमकोट हुँदै चीनको सीमाक्षेत्र हिल्सासम्म पुग्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट हिल्सा पुग्न कुल लम्बाइ ४१० किलोमिटर छ । नेपाल सरकारले गौरवको आयोजना घोषणा गरेको यो सडकको खास अवस्था यस्तो छ ।

हिल्सा–सिमकोट खण्ड : हिल्सा नेपालको सबै उत्तरी नाकामध्ये सबभन्दा राम्रो भूक्षेत्र भएको सीमा बजार हो । यो बजार ०६० पछि स्थापित भएको हो । हिल्सामा कर्णाली प्रदेशको पहिचान दिने अन्तर्राष्ट्रिय सीमा गेट निर्माण गर्ने परिकल्पना गरेका थियौँ । त्यो स्थानबाट आयोगकै सहकर्मी योगेन्द्र शाही र स्वयंले गतवर्ष भदौको पहिलो हप्ता ट्रकमा बसेर नारा लेक हुँदै याल्बाङसम्म पुगेका थियौँ । यस यात्राका क्रममा ७ ट्रक, ९ टिपर र ५ बलेरो गुडिरहेको भेटेका थियौँ । यी सवारीसाधन अहिले हिल्सादेखि ढाँर केर्मीसम्म ओहोरदोहोर गर्ने भएका छन् ।

भोलिपल्ट सल्ली, केर्मी, च्याछरा, गारपारी हुँदै धारापोरी बसेका थियौ भने अर्को दिन डाँडाफया हुँदै सिमकोट पुगेका थियौँ । यो वर्ष सिमकोटबाट च्याछरासम्म केही बलेरो र एक ट्र्याक्टर रिजर्भमा गुडेको देखिन्छ । त्यतिखेर पाइएको जानकारीअनुसार कुल ९५ किलोमिटरमा ६५ किलोमिटर सडक चौडा हुँदै थियो । च्याछराको चार सय मिटर भिर कटान भइरहेको थियो । हिल्सा र तुम्कोटमा पुल बनिसकेको, सल्ली, ताकु र हेप्का खोलामा सडक पुल निर्माण हुन थालेको र याड्ङगार खोलामा सडक पुल निर्माण सम्झौता भएको थियो ।

हाल उल्लिखित कार्यमा सामान्य प्रगति भएको सुनिन्छ । यसका लागि नेपाल सरकारले पर्याप्त बजेट नदिएको गुनासो निर्माण व्यवसायीको छ । असारसम्म सबै भिर फोड्ने र पुल निर्माण कार्य पूरा हुन सक्ने जानकारी निर्माण व्यवसायी तेजबहादुर महतले दिए । उनका अनुसार त्यसपछि च्याछराको मुन्तिर सिमेन्टेड संरचना बनाउन सकेको खण्डमा सिमकोट–हिल्सा आवतजावत गर्न सकिनेछ ।

सिमकोट–सल्लीसल्ला खण्ड : कोसी र गण्डकी करिडोरको सडक तलबाट माथि निर्माण हुँदै गएका हुन् । तर, हुम्लामा हिल्साबाट तल ल्याउनुपर्ने अवस्था आयो । यसभित्र धेरै कहानी जोडिएको सन्दर्भ कांग्रेस नेता जीवन शाहीले बताउँदै आउनुभएको छ । जे होस्, सडक विभागबाट सिमकोटमा हिल्सा–सिमकोट सडक कार्यालय स्थापित भयो । यस कार्यालयले हिल्सादेखि सिमकोट मात्र होइन, सिमकोटदेखि सल्लीसल्लासम्मको सडकको काम गरिरहेको छ । यसै कार्यालयमार्फत क्याराभान कंग्री जेभी निर्माण कम्पनीले खार्पुनाथदेखि छार्यासम्म र सपना धुलिखेल जेभी निर्माण कम्पनीले सल्लीसल्लादेखि छार्यासम्म ट्र्याक खोल्ने ठेक्का पाएका छन् ।

सिमकोट–खार्पुनाथ सडक स्तरोन्नति गर्ने कार्यमा स्थानीयवासीको विवादका कारण ढिलाइ भइरहेको छ । यस सडकमा पाँचवटा जिप नियमित आवतजावत गरिरहेका छन् । खार्पुनाथ दोभानस्थित दोजाम कर्णालीमा सडक पुल नबन्दा यस सडकले खार्पुनाथ गाउँपालिकाको बोक्च्या गौंडासम्म निर्माण भएको सडकमा यातायातका साधनले गुड्न पाएका छैनन् । बोक्च्या गौंडाको पहरो फोड्न पाँच पाइला मात्र बाँकी छ । निर्माण व्यवसायी मंगल लामाका अनुसार यो पहरो सम्भवतः माघको अन्तसम्ममा फोडिसकिनेछ ।

बोक्च्या गाैँडादेखि छार्या हुँदै दुल्ली कुनासम्म पुग्न अब करिब १५ किलोमिटर बाँकी छ । निर्माण व्यवसायी प्रेमबहादुर शाहीका अनुसार चट्टान फोड्ने डोजर ल्याउने बाटो नहुँदा दुल्लीकुनामै अल्झिनुपरेको छ । निजी क्षेत्रसँग आवश्यक दक्ष जनशक्तिको अभाव रहनु, समयमा विस्फोटक पदार्थ प्राप्त नहुनु र सुरक्षा निकायसँग समन्वय गर्न समय लाग्नुले निर्धारित काम प्रभावित भएको छ ।

कतिपयले कालिकोट–जुम्ला–मुगु सडकखण्डलाई पनि कर्णाली करिडोर भनेर बुझिरहेका थिए । नेपाल–भारत सीमाक्षेत्र जमुनाहदेखि सुर्खेत पुगेपछि कर्णाली नदीको किनारैकिनार नेपाल–चीन सीमाक्षेत्र हिल्सासम्म पुग्ने सडक नै कर्णाली करिडोर हो ।

सडक निर्माण कार्यमा निकै ढिलाइ भएकाले स्थानीय जनसमुदायदेखि नीति–निर्माण तहसम्मकाले यस खण्डको सडक निर्माण कार्यको जिम्मा पनि नेपाली सेनाले लिनुपर्ने आवाज उठाइरहेका छन् । दुल्लीकुनादेखि सल्लीसल्लासम्म सडकको ट्र्याक खुलेको छ । सर्केगाडमा बेलिब्रिज आवश्यक छ । यहाँ एउटा जिपले काम पाएको छ । सल्लीसल्लामा सडक पुल निर्माण हुनेबित्तिकै हुम्लाको ताँजाकोट र अदानचुलीजस्तै चंखेली र सर्केगाड गाउँपालिकाले राष्ट्रिय सडक सञ्जालमा जोडिने अवसर पाउनेछन् ।

खुलालु–सल्लीसल्ला खण्ड : नेपाली सेनाले सल्लीसल्लादेखि खच्चासम्मका सबै पहरा फोडेर ट्र्याक खोलेको छ । खच्चा–सल्लीसल्ला खण्डमा दुइटा डोजरले सडक मिलाउँदै गएको र अलि अप्ठेरा स्थानमा दुई–चारजनाले काम गरिरहेको भेटियो । सेनाले यसै वर्षको अन्तसम्म यो सडक सरकारलाई हस्तान्तरण गर्ने बताइरहेको छ । कर्णाली करिडोर निर्माण हुँदै गर्दा मानिसमा सडकआसपास बस्ती बस्ने लालसा बढेको देखिन्छ । सडकको दायाँबायाँ १५–१५ मिटर छोड्नुपर्ने व्यवस्था छ, तर यहाँ सडकसँगै जोडेर घर बनाउन थालेका छन् । सजग गराउँदा नमिठो मान्नेहरू यत्रतत्र भेटिन्छन् । कबाडी, पुइमा खोलामा बजार बनेजस्तै दोमुख, गल्वा, मकैकुना, तुम्च, खच्चा, सल्लीसल्ला, कल्प्याँमा बजार बन्न थालेको छ । सर्केगाड, याङ्चु र खार्पुनाथको बजार विस्तार हुँदै छ । गल्बागाडमा बेलिब्रिज निर्माण भइसकेको छ । यस्तै पुइमा खोलामा बेलिब्रिज बनाउनुपर्छ । कबाडीमा बेलिब्रिज बनिसकेको छ । अब बाजुराको पिलु र भुक्का खोलामा बेलिब्रिज बनाउनुपर्छ । यस सडकका कारण बाजुराको धुलाचौर, पिलु, बेर्मालगायतका स्थानमा बजार निर्माण भएका छन् । कर्णालीको किनारैकिनार जाने सडक काप्री गाउँमा उकाल्दा सात किलोमिटर फेरो परेको देखियो । यसै सडक खण्डमा पर्ने कालिकोट तोलिभिरका २० घर सुरक्षित बस्तीका हिसाबले अति संवेदनशील रूपमा भिरमा लस्करै उभिएर हेरेझैँ देखिन्छन् ।

भिर, पाखा पखेरा पार गर्दै जोखिमयुक्त साँघुरो सडकयात्रा जारी राख्दा कालिकोटको बलुकुना, जारकोट, लाफा पुल भैसेना, घुरा बगर, फुगाड, सान्नीगाड, रेंगिल, लालीघाट, सेरीघाट हुँदै जित्यागाड पुगिन्छ । बालुकुनादेखि कबाडीसम्मको यात्रामा तीन मोटरसाइकल, पाँच टिपर, दुई जिप र दुई डोजर देखापरेका थिए । कबाडीदेखि पिलुसम्मको बाटोमा एक जिप र तीन मिनीट्रक भेटिएका थिए । यस्तै पिलुदेखि जितेगाडसम्ममा २७ वटा जिप, ३६ वटा मिनीट्रक र ३१ वटा मोटरसाइकल भेटियो । जित्यागाडमा सडक पुल निर्माण नहुँदा १६ वर्षदेखि भरियाको केन्द्र बनेको जानकारी मान्मका लल्लु विकले सुनाए ।

करिव दुई सय भरियाले बाह्रैमास काम पाए पनि यहाँको पुल निर्माण नहुँदा कर्णाली करिडोरको मूल लक्ष्य कालिकोटको जित्यागाडमै अलमलिएको देखियो । जित्यागाडबाट दैलेखको राकम, डुंगेश्वर हुँदै सुर्खेतको सीमाक्षेत्रसम्म पुग्दा पक्की सडक उप्केकाले यात्रा असहज हुनु स्वाभाविक थियो । यसैले पनि होला प्रायः सबैको मुखबाट सरकारलाई गाली गरिरहेको मात्र सुनियो । जितेगाडबाट सुर्खेत बजारसम्म पुग्दा यो सडक खण्डमा १४ बस, २१ जिप, १७ मालबाहक ट्रक, दुई डोजर, ७ ट्र्याक्टर, ८ ट्याम्पो र ५२ मोटरसाइकल गुडेको रेकर्ड गरेको थिएँ ।

सडकको इतिहास : ०५६ सालमा शिलान्यास गरिएको कर्णाली करिडोरको निर्माण ०६६ सालसम्म सडक विभाग आफैँले गर्ने तयारी गरिरहेको थियो । तर, कालिकोट र हुम्लाको अधिकांश भागमा ठुल्ठूला चट्टान र पहराका कारण ०७१ चैत ९ गते नेपाली सेनालाई जिम्मा लगायो । जसअनुसार कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको एक सय २३ किलोमिटर सडक निर्माण कार्य नेपाली सेनालाई जिम्मा दिँदा हुम्लासम्म सडक पुगेको छ । यस सडकमा ४० किलोमिटर कालिकोट खण्ड, ४४ किलोमिटर बाजुरा खण्ड र एक सय १३ किलोमिटर हुम्ला खण्ड रहेको छ । तर, सेनाले हुम्ला खण्डमा ६१ किलोमिटर मात्र जिम्मा पाएको छ । हुम्लाको सल्लीसल्लादेखि सिमकोटसम्मको ५० किलोमिटरको काम निजी क्षेत्रले गरिरहेको छ । छार्या भिरमा आठ किलोमिटर सडक पर्ने र त्यसमध्ये ४.५ किलोमिटर सडकको ट्र्याक खोल्ने कार्य निकै जटिल रहेको छ ।

कर्णाली करिडोरको खुलालु–सिमकोट खण्डमा करिब एक सय ९६ किलोमिटर र हिल्सा–सिमकोट खण्डमा करिब ८८ किलोमिटर सडक निर्माण गर्दा नेपाल सरकारले यस करिडोरका लागि चार अर्ब १० करोड लागत अनुमान गरेको थियो । कतिपयले कालिकोट–जुम्ला–मुगु सडकखण्डलाई पनि कर्णाली करिडोर भनेर बुझिरहेका थिए । नेपाल–भारत सीमाक्षेत्र जमुनाहदेखि सुर्खेत पुगेपछि कर्णाली नदीको किनारैकिनार नेपाल–चीन सीमाक्षेत्र हिल्सासम्म पुग्ने सडक नै कर्णाली करिडोर हो । नेपाली सेनाले ट्र्याक खोलेको कर्णाली करिडोरमा अहिले सेनाको अनुमतिमा अत्यावश्यक केही सवारीसाधनले मात्र आवतजावत गर्न पाएका छन् । ट्र्याक खुलेको सडक विभागलाई हस्तान्तरण भएपछि सवारीसाधन चल्ने र यातायातको पहुँचमा नभएका हुम्ला र मुगुका नागरिकलाई सहज हुनेछ ।

अहिले हुम्ला क्षेत्रमा ट्र्याक खुल्दै छ । कोहलपुरदेखि सुर्खेतसम्म चार लेनको सडक विस्तार, सुर्खेतदेखि जितेगाडसम्म कालोपत्रे र जितेगाडदेखि कबाडीसम्म ग्राबेल गर्नुपर्ने देखिएको छ । जितेगाड, पिलु, सल्लीसल्ला र खार्पुमा सडक पुल बनाउनुपर्छ । कार्यक्षेत्रका हिसाबले यो सडक नेपाल सरकारको हो, तर दिनहुँ हामीहरू हिँड्नुपरेको छ । मृत्युमार्गलाई समृद्धि मार्गमा फेर्नु छ र यसमा आवश्यकताका आधारमा संघ र प्रदेशको साझेदारीमा स्तरोन्नति गर्नुपर्नेछ । सडकको योजना बनाउँदा मर्मतसम्भार, स्तरोन्नति र ट्र्याक खोल्ने कार्यका लागि क्रमशः ध्यान दिनुपर्ने हुन्छ ।

समृद्धि मार्ग : कर्णाली प्रदेश सरकारले प्रदेशको पहिलो रूपान्तरणकारी आयोजनाको रूपमा सुर्खेत–हिल्सा द्रुतमार्गलाई प्रस्ताव गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा चाइना रेलवे इरियान इन्जिनियरिङ ग्रुपले गरेको अध्ययनअनुसार ६४ अर्बमा चार सय १० किमि सडक पाँच वर्षमा निर्माण गर्न सकिन्छ । यस अध्ययनले आठदेखि १० घन्टामा सुर्खेतबाट हिल्सा पुग्न सकिने बताएको छ । वर्तमान सरकारको अकर्मण्यताका कारण चिनियाँ बिआरआई परियोजनाले चासोका साथ हेरेको कर्णाली करिडोरको निर्माण कार्य अघि बढ्न सकेको छैन ।

मेरो अनुभवमा हुम्लाको बुबापुस्ताले जडीबुटीको भारी बोकेर नेपालगन्जको हाट पुग्नलाई पूरै एक महिना लगाउनुपथ्र्यो । म १२ वर्षको हुँदा राजापुरबाट हुम्लास्थित मेरो जन्मघरमा पुग्न पूरै १७ दिन लागेको थियो । यतिवेला सुर्खेतबाट हुम्लाको हिल्सा पुग्न सात दिन लाग्छ । यो सडक बन्दा हप्तालाई दिन र दिनलाई घन्टामा झार्न सकिन्छ । यो पवित्र कर्णाली नदीको मुहान क्षेत्रमा पर्ने मानसरोवर र कैलाश पुग्ने पुरानो रेशम मार्ग हो । जसलाई हामीले कर्णालीको समृद्धि मार्ग भनेर हेरेका छौँ ।
(लेखक कर्णाली प्रदेश योजना आयोगका सदस्य हुन्)

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार