
ब्राजिल । सुरक्षामा गर्न खटिएकाले नै निर्दोष नागरिकलाई मारिरहनु । विश्वभर नै यो निकै तीतो र तातो यथार्थ हो । त्यसैले धेरै मानिसहरूले प्रहरी या सेनालाई सुरक्षाकर्मीको साटो ‘सरकारी बन्दुकधारी’ भन्न थालेका छन्।
ल्याटिन अमेरिकी देश ब्राजिलमा अहिले यस्तै भइरहेको छ। नागरिकहरू सुरक्षाकर्मी भनिएका सरकारी बन्दुकधारीहरूसँग डराइरहेका छन्, जति डर उनीहरूलाई भूमिगत आपराधिक गिरोहहरूसँग लाग्नेगर्छ । त्यहाँ हरेक वर्ष प्रहरीको हातबाट हजारौं मानिसको मृत्यु हुन्छ। यस्तो हुँदा पनि त्यहाँको राष्ट्रिय या अन्तरराष्ट्रिय मिडियामा ब्राजिलका नागरिकमाथि भइरहेको सरकारी ज्यादतीबारे खासै समाचार बन्ने गर्दैन।
अमेरिकामा प्रहरी अधिकारीबाट अश्वेत युवा जर्ज फ्लोइडको विभत्स ढंगले हत्या भएपछि संसारभर नै प्रहरीको कार्यशैली र हिंस्रक चरित्रमाथि विमर्श भइरहेको छ ।यही घटनाले अमेरिकी सत्तामा समेत खलबली मच्चियो र डोनाल्ड ट्रम्पलाई पराजयको तीतो स्वाद चखाउन फ्लोएडको हत्या पनि प्रमुख कारक बनिदियो ।
अमेरिका हुँदै विश्वभर ब्ल्याक लाइभ्स् म्याटर अभियान छेडिएपछि बेलायती प्रसारण निगम (बीबीसी) को ध्यान ब्राजिलतर्फ पनि मोडियो । त्यहाँको स्थानीय गैरसरकारी संगठन ब्राजिलियन फोरम अफ पब्लिक सेक्युरिटी (बीएफपीएस) सँग मिलेर बीबीसीले ब्राजिलमा प्रहरीले गरिरहेको अन्धाधुन्ध हत्याबारे अनुसन्धान गरेको छ।
ब्राजिलमा प्रहरी हिंसा कुन हदसम्म पुग्छ र यसको चपेटामा सबैभन्दा बढी कस्ता नागरिक पर्छन् भन्नेतर्फ केन्द्रित भएको बीबीसीले जनाएको छ।
तीन किशोर, तीन हत्या
दाजुभाइहरूसँग घरमा खेलिरहेकै बेला १४ वर्षीय जोआयो पेड्रोमाथि प्रहरीले गोली बर्सायो । आफ्नी बज्यैको घर बाहिर निस्किएका १४ वर्षीय किशोर गुइलहर्मे गुइडेस बेपत्ता भए। पछि मुखमा गोली हानिएको अवस्थामा उनको शव भेटिएको थियो । १६ वर्षीय इग्योर रोचा रामोसको हत्या त्यतिखेर भयो, जतिखेर उनी बाँच्नका लागि रोटी किन्न बजार गएका थिए। कोरोना संक्रमित उनकी आमा निको हुने कोशिस गरिरहेकी थिइन्।
यी तीन हत्यामा साझा तथ्य एउटै छ, त्यहो हो : ब्राजिल प्रहरीको संलग्नता! हत्या भएको महिनौं बितिसक्दा पनि पीडित परिवारलाई न्याय मिल्ने कुनै छेकछन्द छैन।
बीचका घटनाक्रमहरू यहाँ अनुवाद गरिएको छैन, जुन बीबीसीले मिहिन ढंगले लेखेको छ। सार उही हो, जस्तो कि अमेरिकामा जर्ज फ्लोयडलाई हत्या गर्दा प्रहरीले झुठा तर्क अघि सारेको थियो।
ब्राजिल प्रहरीले पनि बन्दुक बोकेर हिँड्दै गर्दा इग्योरको हत्या गरेको बतायो। तर, प्रहरीले गोली चलाउँदै गर्दा इग्योरसँग कुनै हतियार नरहेको प्रत्यक्षदर्शीहरूले नै बताएका छन् ।
धन्न, इग्योरमाथि प्रहरीले गोली चलाएको देख्ने मानिसहरू थिए र यो फर्जी इन्काउन्टर नै हो भन्ने आम मानिसहरूले थाहा पाए। तर, प्रहरीले बनाएको किर्ते कागजातमा लेखिएका विवरण नै अहिलेसम्म हाबी भइरहेको छ।
अर्थात, मन लागेका बेला सडकमा हिँडिरहेका निर्दोष मानिसहरूको ज्यान लिने प्रहरीहरू अहिलेसम्म सुरक्षित छन्।
रियोमा अश्वेत युवाहरूको बली
सन् २०२० को पहिलो ६ महिनामा मात्रै ब्राजिलमा ३ हजार १४८ जना मानिसलाई प्रहरीले मारिदियो। यसको औषत हिसाब हुन आउँछ : एक दिनमा १७ जना । ब्राजिलको सानो राज्य रियो दि जेनेरियोमा १ करोड ६० लाख मानिसको आवादी छ।
त्यहाँ पछिल्लो ६ महिनामा जति मानिसलाई प्रहरीले मारिदियो, त्यो ३२ करोड ८० लाख जनसंख्या भएको अमेरिकामा भन्दा पनि धेरै हो । तर, मनमौजी हत्या गर्नुलाई ब्राजिल प्रहरीले सामान्य ठान्छ। यसमा सत्ता र संगठनको कृत्रिम मनोविज्ञानले जरो गाडेको छ।
ब्राजिलमा मन लागेका बेला प्रहरीले नागरिकलाई बीच सडकमै ढालिदिन्छ। तर त्यहाँ अमेरिका या नाइजेरियामा झैं विरोध प्रदर्शन हुँदैन । प्रहरीको हातबाट मारिएका हरेक १० जनामध्ये एक जनामात्रै आपराधिक मामिलामा जोडिएको पाइएको छ। यसको अर्थ हो : ब्राजिलमा प्रहरीले एकजना अपराधी मार्दा निरपराध अरू ९ जनालाई गोलीको शिकार बनाउँछ।
ब्राजिलको अवस्था देख्दा त्यहाँको मीडियादेखि अदालतसम्म नै प्रहरीबाट भइरहेको हत्याबारे बोल्न चाहँदैन। उनीहरूलाई निर्दोषहरूको हत्या भइरहेको हेर्न बानी परिसक्यो र यस्ता मामिलाबाट परै रहन सिकिसके। ब्राजिल फोरम अफ पब्लिक सेक्युरिटीसँग मिलेर गरिएको अध्ययनबाट यो पत्ता लाग्यो कि त्यहाँ सन् २०२० को पहिलो ६ महिनामा एक हजारभन्दा धेरै मानिस मारिए ।
गोराहरूको बाहुल्य रहेको साओ पाउलोमा प्रहरीको हातबाट मारिएकामध्ये ६० प्रतिशत कालाजातिका थिए। मारिएका ३० प्रतिशतको उमेर २४ वर्षभन्दा कम थियो । प्रहरी अत्याचारका मामिलामा रियो दि जेनेरियो सबैभन्दा खतरनाक स्थानमा पर्छ, जहाँ प्रहरीको हातबाट मारिनेमध्ये ७५ प्रतिशत कालाजातिका हुन्छन् ।
दक्षिण अमेरिकामा ब्राजिलले सबैभन्दा पछि दासप्रथा उन्मुलन गरेको थियो । त्यसकारण अहिले पनि त्यहाँ सामाजिक असमानता निकै गहिरो छ । काला र मिश्रित समुदायका मानिसको आयु नै कम छ। उनीहरूको शिक्षा र रहनसहनको स्तर पनि निकै कमजोर छ ।
हिंसाको इतिहास
ब्राजिलका प्रहरीहरू किन यति आक्रामक छन्? यसको जवाफ ब्राजिलकै विगत कोट्याउँदा थाहा लाग्छ । २ दशकसम्म त्यहाँ सैन्य तानाशाहीले हजारौं मानिसलाई सतायो। सयौं मानिसको हत्या भयो ।
ब्राजिल सरकारसँग दुई किसिमको फौजी शक्ति छ। एक सेना (मिलिट्री) र अर्को नागरिक प्रहरी (सिभिल पुलिस) । सैनिक प्रहरीलाई सेनाको जवानसरह तालिम दिइन्छ। तर उनीहरूले नै हरेक दिन सडकमा सुरक्षा दिनुपर्ने हुन्छ। नागरिक प्रहरीलाई न्यायिक र प्रशासनिक काममा खटाइन्छ ।
सिभिल प्रहरीको तलब निकै कम छ उनीहरूमाथि अनेकन दबाब बढाइन्छ। एकातर्फ विश्वमा सबैभन्दा अपराधदर भएको मुलुक ब्राजिल हो। अर्कातर्फ, प्रहरीलाई निरीह बनाएको छ । बन्दुक सहज ढंगले उपलब्ध हुनुपनि ब्राजिलमा प्रहरीका हातबाट नागरिक मारिनुको कारण हो। ड्युटीमा खटिएका प्रहरीलाई लाग्छ : हरेक मानिस बन्दुक बोकेर हिँडेका छन् ।
झोपडपट्टीमा हतियारसहित लागुऔषध कारोबारमा संलग्नहरूले त यसैपनि सुरक्षा खतरा बढाइरहेकै छन्। उनीहरूले प्रहरीलाई नै मारिदिन्छन्। त्यहाँ ज्यान गुमाएका प्रहरीको संख्या पनि कम छैन । यसरी, ल्याटिन अमेरिकाकै सम्पन्न भनिएको ब्राजिलमा प्रहरीले निर्दोषलाई मार्ने क्रम बढिरहेको छ। प्रहरीबाट बच्नकै लागि मानिसहरू भूमिगत गिरोहको जञ्जालभित्र छिरिरहेका छन्। त्यसो हुँदा अपराध झन् बढिरहेको छ।
जर्ज फ्लोयडको हत्या हुँदै ब्राजिलमा नरसंहारको तहमा भइरहेको फर्जी इन्काउन्टरलाई लिएर मानिसहरू प्रश्न सोधिरहेका छन् : हामीले सुरक्षाकर्मी पालिरहेका छौं कि सरकारी बन्दुकधारी !