२०८० जेष्ठ १९ गते शुक्रवार

ओली समूहले बचन बहादुरलाई बनायो युवा संघ अध्यक्ष



काठमाडौं । राष्ट्रिय युवा संघ (केपी ओली समूह)को अध्यक्षमा बचनबहादुर सिंह चयन भएका छन् ।

तत्कालीन एमाले र माओवादी एकीकरणपछि बनेको राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ प्रचण्ड-माधव पक्षमा लागेपछि उनलाई हटाएर ओली पक्षले सिंहलाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्ष पदमा सिंह र रमेश पौडेल दाबेदार थिए । युवा संघ इञ्चार्ज महेश बस्नेतले सिंहलाई अध्यक्ष प्रस्ताव गरेपछि केन्द्रीय समिति बैठकले त्यसैलाई पारित गरेको हो । बचन बहादुर आगामी जेठमा ४० वर्ष पुग्ने भएकाले उनी अब करिब चार महिनामात्र युवा संघको अध्यक्ष रहने छन् । त्यसपछि सहअध्यक्षको जिम्मेवारी पाएका किरण पौडेल स्वतः अध्यक्ष बन्ने समझदारी भएको स्रोतले बतायो ।

ओली समूहले युवा संघको सहअध्यक्षमा पौडेललाई चयन गरेको छ । यसैगरी रमेश आचार्य महासचिव बनेका छन् ।उपाध्यक्षमा सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, अञ्जना अधिकारी, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, अमित लामा, गजेन्द्र शाही, अशोक चौलागाईं, किरण गौतम र सुमन पुरी छन् ।

उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी मुकेश बुढाथोकीले पाएका छन् । राकेश लामा र हिमेश केसी सहकोषाध्यक्ष बनेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २७ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?