२०७८ बैशाख २३ गते बिहिवार

भारतमा नेपाली बालिकाको सामूहिक बलात्कारपछि हत्या, रातारात जलाइयो शव



काठमाडौँ । भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । सामूहिक बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या भएको हो ।

हत्यापछि मध्यरातमा जबरजस्ती उनको शव पनि जलाइएको आफन्तले बताएका छन् । प्रारम्भिक अनुसन्धान र एक भाइरल अडियोले यो घटना स्थानीय प्रहरी चौकीका प्रमुखको मद्दतमा भएको खुलेको छ ।

एसपी नविनचन्द्र झाले बिबिसी हिन्दीसँग भनेका छन्, ‘जुन अडियो भाइरल भएको छ त्यसबाट स्पष्ट हुन्छ कि प्रहरी अधिकारी संजिव कुमार रन्जनको लापर्वाही र कर्तव्यहीनता यो घटनामा छ। उनलाई निलम्बन गरिएको छ र अनुसन्धानका लागि उनीविरुद्ध एफआईआर दर्ता हुनेछ।’

यो घटनाको एफआईआर दर्ता भएलगत्तै फेब्रुअरी ५ मा एक अडियो भाइरल भएको छ जसमा २१ जनवरीमा कुन्डवा चैनपुरका चौकी प्रमुख संजिव कुमार रन्जनले एक अभियुक्त रमेश साहसँग कुरा गरेका छन्। उक्त कुराकानीमा रन्जन अभियुत्त रमेशसँग भन्छन्, ‘शवको व्यवस्था गर र केटी चिसोले मरेको कागज बनाउ।’

यस्तो छ घटनाक्रम

नेपालको बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ का सुरेश (नाम परिवर्तन) विगत केही वर्षदेखि बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा चौकीदारी गर्दै आएका थिए। श्रीमती र छोराछोरीसहित उतै बस्ने गरेका सुरेश घटनाको दिन पनि चौकीदारीका लागि गएका थिए।

श्रीमती काम विशेषले नेपाल आएको र छोरा बजार गएका बेला घरमा छोरी एक्लै भएको बखत घटना भएको हो। सुरेशका अनुसार यो घटना २१ जनवरीको हो । त्यसदिन उनी छोरीलाई कोठामै राखेर काममा गएका थिए ।

पूर्वी चम्पारणको सिकहता, अनुमण्डल पदाधिकारीलाई सुरेशका तर्फबाट दिइएको उजुरीका भनिएको छ ‘साँझ ४ बजे जब मेरो छोरा बजारबाट फर्किरहेको थियो त्यतिबेला हाम्रो घरबेटी सियाराम साहले उनलाई रोके ।

तर मेरो छोरा उनको कुरा नसुनेर घर पुगेपछि दिदी जमिनमा लडिरेहेको देखेपछि मलाई खबर प्राप्त भयो। म तुरुन्तै घर पुगेर हेर्दा छोरी भुईँमा लडेकी थिइन् उसको घाँटीमा निलडाम थियो। मैले उनलाई उपचारका लागि स्थानीय मेडिकलमा लगेँ तर कसैले उपचार गरेनन्।’

सुरेशका अनुसार त्यसपछि केही मानिसहरु जम्मा भए र उनीहरुले शव जलाउनका लागि दबाब दिन थाले। उजुरीमा उल्लेख भए अनुसार ‘देबेन्द्र कुमार साहले शव जलाउन दबाब दिँदै अन्यथा बाउछोरा दुवैको हत्या गरेर नेपालमा फालीदिने धम्की दिए।

त्यसपछि एक सादा कागजमा औँठा छाप लगाइयो र राति १२ बजे जबर्जस्ती पोखररोडको सडक किनारमा नुन र चिनी राखेर शव जलाइयो। अर्को दिन बिहान हुनेबित्तिकै मलाई नेपालतर्फ धपाइयो।’

१२ दिनपछि दर्ता भयो एफआईआर
२१ जनवरीमा भएको यो घटनाको उजुरी फेब्रुअरी २ मा दर्ता भएको छ। जम्मा ११ जनाका विरुद्ध उजुरी दर्ता भएको छ। जसमध्ये चारजना अभियुक्त विनय साह, दिपककुमार साह, रमेश साह देवेन्द्र कुमार साहमाथि सामूहिक बलात्कार र हत्याको आरोप छ ।

अन्य सातजना जसमा घरधनी सियारामसाह पनि संलग्न छन् उनीहरुलाई जबरजस्ती शव जलाएर प्रमाण नष्ट गरेको आरोप लगाइएको छ । एसपी नवीनचन्द्र झाका अनुसार यो घटनामा दुईजना अभियुक्त पक्राउ परेका छन्। अन्यको खोजी भइरहेको छ।

प्रकाशित मिति : २०७७ माघ २६ गते सोमवार