
धनगढीः बलात्कारपछि हत्या गरिएकी किशोरी भागरथी भट्टको मोबाइल ‘रिकभर’ गरिने भएको छ।
घटनास्थलमा भेटिएको उनको मोबाइलबाट डिलिट भएका सबै म्यासेज, अडियो–भिडियो र कलको सबै विवरण निकाल्न प्रहरीले मोबाइल ‘रिकभर’ गरिरहेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले मोबाइलसहित घटना स्थलमा भेटिएका सबुत प्रमाणको आवश्यकताका आधारमा परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइरहेको बताए ।
उनले भागरथीले प्रयोग गर्ने मोबाइल पनि परीक्षणका लागि केन्द्रीय डिजिटल ल्याबमा पठाइरहेको बताए । त्यसबाट मोबाइलमा भएका सबै म्यासेज, अडियो–भिडियो र कलका सबै विवरण प्राप्त निकाल्न सकिने भएकाले अनुसन्धानमा सहज हुने जनाए ।
भागरथीले भारतीय सीमकार्ड पनि प्रयोग गर्ने खुलेको छ। घटनास्थलमा भेटिएको मोबाइलमा भारतीय सीमकार्ड मात्र फेला परेको र उनले प्रयोग गर्ने नेपाली सीमकार्ड सो दिन घरमै रहेको पाइएकाले प्रहरी अनुसन्धानमा केही समस्या भएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार भारतीय सीमकार्ड र मोबाइलका म्यासेज, भिडियो–अडियो र कलको विवरण समेत डिलिट गरेको पाइएपछि मोबाइलबाट बलियो ‘क्लु’फेला पर्न सकेको छैन ।
तर डाटा ‘रिकभर’ भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक सिंहले भारतीय प्रहरीसँग पनि समन्वय गरेर अनुसन्धान भइरहेको बताए ।
भारतीय प्रहरीको सहयोगमा पनि कल डिटेल निकाल्न आवश्यक पहल थालिएको बताउँदै घटनाको सुक्ष्म अनुसन्धान जारी राखिएको जानकारी दिए । सीमा नाका नजिक भएकाले चडेपानी क्षेत्रमा भारतीय नेटवर्कले काम गर्ने गरेको छ। सोही कारण त्यहाँका अधिकांश स्थानीयले भारतीय सिमकार्ड प्रयोग गर्ने गरेका छन् ।
गत बुधबार विद्यालयबाट फर्किने क्रममा बेपत्ता भएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत भेटिएकी थिइन्।
उनको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको छ। ३ दिनदेखि घटनास्थलमा एसएसपी र सीआईबीका डीएसपीको नेतृत्वको प्रहरी टोली अनुसन्धानका लागि तैनाथ छ। आइतबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी पनि बैतडीतर्फ हिँडेका छन्।