
काठमाडौँ । चीन सरकारले कोरोना भाइरसको ५ लाख डोज खोप नेपाललाई अनुदान सहयोगमा गर्ने भएको छ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र उहाँका चिनियाँ समकक्षी वाङ यीबीच शुक्रबार साँझ भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोगको घोषणा गरेका हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको टेलिफोन संवादमा चीनका विदेश मन्त्री वाङ यीले उक्त अनुदानको दिने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री ज्ञवालीसँगको कुराकानीमा चीनका विदेश मन्त्री वाङले खोप सहयोगका विषयमा नेपाललाई प्राथमिकतामा राख्ने पनि बताए ।
सो सहयोगका लागि परराष्ट्र मन्त्री ज्ञवालीले चीन सरकारलाई धन्यवाद दिनुका साथै कोभिड खोपलाई विश्वकै सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउने चिनियाँ अवधारणाको प्रशंसा गरेका छन् । चीनले यसअघि नेपाललाई ३ लाख डोजको कोरोना खोप अनुदान सहयोग गर्ने बताएको थियो ।