२०८० असोज ९ गते मङ्गलवार

‘स्टार क्रिकेट : टिम धुर्मुस समूह ‘ए’ ६ रनले विजयी



चितवन : भरतपुर–१५ रामपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशलामा जारी राष्ट्रिय खेलाडी तथा कलाकारहरु बीचको ‘स्टार क्रिकेट २०२१’ को पहिलो खेलमा टिम धुर्मुस समूह ‘ए’ ६ रनले विजयी भएको छ।

टिम धुर्मुस समूह ए र बी बीच खेल भएको थियो । समूह बी ले टस जितेर पहिला बलिङ रोजेको थियो। निर्धारित १० ओभरमा सिताराम कट्टेलको कप्तानी रहेको टिम धुर्मुसको समूह ‘ए’ले ५ विकेटको ६९ रन बनाउन सफल भयो ।

७० रनको लक्ष्य पछ्याएको समूह बी ले ६ विकेटको क्षतिमा ६३ रन मात्रै बनाउन सफल भयो। टिम धुर्मुस समूह ‘ए’ तर्फबाट नायिका सुरक्षा पन्तले उत्कृष्ट बलिङ गर्दै तीन खेलाडीलाई ‘बोल्ड’ गर्न सफल भइन् । टिम धुर्मुसको समूह ‘ए’मा सिताराम कट्टेलको कप्तानी रहेको थियो भने टिम धुर्मुसको समूह ‘बी’मा दिपक बिष्टको कप्तानी रहेको थियो।

समूह ‘ए’ मा खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल सहित अनिल शाह, सुनिल थापा, प्रमोद खरेल, दयाहाङ राई, रबी ओड, नरेश भट्टराई, सुरक्षा पन्त, सदिना श्रेष्ठ, बेनिशा हमाल छन् । समूह ‘बी’ मा उपकप्तान सुशान्त भारीसहित करुणा भण्डारी, आकाश खड्का, बद्री पंगेनी, कुमार कट्टेल, अर्जुन घिमिरे (पाँडे), महेश्वर महर्जन, स्मिता दाहाल, नम्रता सापकोटा र रेश्मा भण्डारी छन्।

धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको रंगशालालाई आर्थिक संकलन गर्ने उद्देश्यले गृष्मा ब्रोडकास्टिङले मैंत्रीपूर्ण क्रिकेट म्याच ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्टको आयोजना गरेको हो। सिताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तली बीच दुई-दुई वटा समूहमा राष्ट्रिय खेलाडी र कलाकारहरु विभाजन भएर स्टार क्रिकेट टुर्नामेन्टको आयोजना गरिएको हो। यसपछि टिम सुन्तली समूह ए र बी बीच खेल हुँदै छ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?