२०८० चैत्र १६ गते शुक्रवार

एमसीसीको विरोधमा नारा लाग्दा प्रचण्डको रहस्यमय मौनता 



काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा लामो समयदेखि विवाद चलिरहेको छ ।

यो परियोजना संसदबाट पारित गर्नुपर्ने शर्त छ । तर, संसदबाट पारित गराउने विषयमा दुई मत भएपछि यो परियोजना नेपालमा लागू हुन सकेको छैन । एमसीसीका कारण सत्तारुढ नेकपामा पनि ठूलो विभाजनको खाडल देखा परेको थियो ।

नेकपामा एमसीसीको विरोध गर्ने मुख्य पात्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थिए । प्रधानमन्त्री केपी ओली एमसीसी संसदबाट पारित गर्ने पक्षमा हुँदा प्रचण्डले यसको तीब्र विरोध गरेका थिए । पूर्व सभामुख कृष्णबहादुर महराले पनि प्रचण्डकै दबाबमा एमसीसीको विषय संसदको कार्यसूचीमा नराखेको दावी गरिन्छ ।

अहिले संसद विघटनविरुद्ध सडकमा उत्रिएका प्रचण्ड एमसीसीका विषयमा पूरै उल्टो प्रतिक्रियासहित देखिए । एमसीसीको चर्को विरोध भइरहेको ठाउँमा उभिएका प्रचण्डको रहस्यमय मौनताले अहिले धेरैलाई झस्काएको छ । प्रचण्ड एक्कासी एमसीसीको पक्षमा पुगेका त हैनन् भन्ने आशंका बढेको छ । त्योभन्दा पनि प्रचण्ड एमसीसीको पक्षमा कसरी पुगे भन्ने कुरामा चासो बढेको छ ।

बिहीबार देशव्यापी आमहडताल घोषणा गरेका प्रचण्ड एक कार्यक्रममा पुगेका थिए । त्यहाँ माइकबाट प्रतिगमन मुर्दाबाट भन्ने नारा लाग्दा प्रचण्डले पनि चर्को स्वरमा मुर्दाबाद भने । तर, जब एमसीसी चाहिँदैन भन्ने नारा लाग्यो प्रचण्ड रहस्यमय तरिकाले मौन रहे र हात बाँधेर उभिए । दोस्रोपटक पनि एमसीसी चाहिँदैन भन्ने नारा लाग्यो तर प्रचण्डले नाराप्रति कुनै चासो नदिइ साथमै गएकी पम्फा भुसाललाई जाउँ भने र बाटो लागे ।

प्रकाशित मिति : २०७७ माघ २२ गते बिहिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?