
एजेन्सी । सोसल मिडियामा एक श्रीमानका तस्बिर भाइरल भइरहेका छन् । ती व्यक्ति निदाइरहेका थिए । तर उनले महिलाको पहिरन लगाइरहेका थिए । साँच्चै भन्ने हो भने ती पहिरन उनीमाथि बिछ्याइएका थिए जुन उनले लगाएको झैं देखिन्थ्यो ।
यस्तो क्रियाकलाप ती व्यक्तिकी श्रीमतीको हो जसले फिलिपिन्समा एक अनलाइन बुटिक चलाउँछिन् । उनले आफ्ना सुतिरहेका श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गरिदिइन् । यस्तो उनले अनलाइन कपडा बेच्नका लागि गरिन् ।
यी तस्बिर Jo’s Online Shoppe नामको फेसबुक पेजले सेयर गरेको हो । यसमा क्याप्सनमा लेखिएको छ, ‘म्यानेक्विन छैन ? समस्या छैन । कोसिस चाहिन्छ ।’
खबर लेख्ने बेलासम्म यो पोस्टमा लगभग ६ हजारले कमेन्ट गरिसकेका छन् भने ११ हजारले रियाक्सन दिइसकेका छन् । यसका साथै यो पोस्टलाई २२ हजारले सेयर गरिसकेका छन् । धेरैजसोले महिलाको क्रिएटिभ आइडियाको तारिफ गरिरहेका छन् ।
Jo’s Online Shoppe की मालिक जोसेलिन मे ज्याजरेना क्याडेले जब आफ्ना श्रीमानलाई उत्तानो परेर सुतिरहेको देखिन् तब उनले श्रीमानलाई मोडलको रुपमा प्रस्तुत गर्नेबारे सोचिन् । त्यसैले उनले सुतिरहेका श्रीमानको जिउमा स्कर्ट, टप, जिन्स र महिलाका विभिन्न परिहन राखिदिएर फोटो खिचिन् । उनले श्रीमानको तस्बिर आफ्नो पसलको फेसबुक पेजमा सेयर गरिन् तब यो मामिला भाइरल भयो ।