२०८० जेष्ठ १९ गते शुक्रवार

डोल्पा काङ्ग्रेसमा क्रियाशिल सदस्यता बिवादः केन्द्रले पठायो जिल्लाले रोक्यो !

सभापति बुढा भन्छन विधि पद्धति मिचेर क्रियाशिल दिन सकिँदैन्


रामचन्द्र न्यौपाने
डोल्पा २१ माघ,
डोल्पा काङ्ग्रेसमा क्रियाशील सदस्यता बिवाद चुलिएको छ ।
केन्द्रबाट पठाएको पाँचसय क्रियाशील सदस्यताको बिषयमा पार्टी भित्र बिवाद चुलिएको हो ।
राप्रपा परित्याग गरि आएका नेता र कार्यकर्ताकालागि केन्द्रले पठाएको पाँचसय क्रियाशिल सदस्यता नपाएको भन्दै पुर्व राप्रपा समुहले असन्तुष्टि जनाएको छ ।
क्रियाशिल सदस्यताकै बिषयलाई लिएर दुई धारमा विभाजित डोल्पा काङ्ग्रेसका नेता कार्यकर्ताहरु आफु निकटका केन्द्रिय नेताहरुको लविङ्गतिर लागेकाछन् ।

केन्द्रिय सदस्य कर्ण बुढा पक्षका टोली जिल्ला पार्टी सभापतिले क्रियाशील सदस्यता नदिएको बिषयलाई लिएर पार्टी केन्द्रिय कार्यालय सानेपा धाउनुकासाथै आफु निकटका नेताहरुसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा भेटघाटमा व्यस्त भएको सभापति बुढा पक्षले जनाएको छ ।

पार्टी सभापति अंगतकुमार बुढा

एक बर्ष अघि नेपाली काङ्ग्रेस केन्द्रिय सदस्यमा मनोनित भएका कर्ण बुढालाई पार्टी सभापति शेरबहादुर देउवाको निकट मानिन्छ ।
देउवाकै प्रत्यक्ष सहयोगमा बुढालाई केन्द्रिय सदस्य बनाइएको बताइन्छ ।
त्यसैगरि अहिले उनको पक्षमा देखिएका जिल्ला पार्टीका पुर्व सभापति टंकप्रसाद उपाध्याय सहितको टोली देउवा लगायतका निकटम नेताहरु भेट्न रातारात राजधानी पुगेको स्रोतले जनाएको छ ।
केन्द्रले स्पष्ट रुपमा समायोजन भएर आएका रापप्रा नेता कार्यकर्ताकालागि पठाएको पाँचसय क्रियाशील सदस्यता सभापति अंगतकुमार बुढाले रोकेको केन्द्रिय सदस्य कर्ण बुढाले बताए ।
कुनै पनि हालतमा केन्द्रले पठाएको पाँचसय क्रियाशिल सदस्यता पाउनुपर्ने बुढाको दाबी छ ।
“पुरानो राजनितिक पृष्ठभुमिको कुरा गर्ने हो भने सभापतिका बुढाको पनि फरकनै थियो,मेरो नि फरक थियो,पुरानो पार्टी परित्याग गरेर आईसकेपछि विश्वास मान्नुपर्छ”केन्द्रिय सदस्य बुढाले भने ।
“यस अघिका चुनावमा आफु राप्रपाबाट चुनाव नलडेकाले कार्यकर्ता कहाँ गए,कता भोट हाले त्यो महत्वपुर्ण होइन,अब आउने चुनावमा काङ्ग्रेसलाई उनिहरुले लागि परेर सहयोग गर्नेछन्”उनले विश्वास दिलाए ।

केन्द्रिय सदस्य कर्ण बुढा

सभापति बुढा पार्टीलाइ एक ढिक्का र बलियो बनाउने पक्षमा नरहेकाले हिजो देखि आजसम्म पार्टी र कार्यकर्ताकालागि केही गर्न नसकेको बुढाको आरोप छ ।
यता पार्टी सभापति अंगतकुमार बुढाले पार्टीको विधि र पद्धति मिचेर केन्द्रले पठाएको क्रियाशिल सदस्यता नव प्रवेशीहरुलाइ पुर्व राप्रपाका नेता कार्यकर्तालाइ दिन नसकिने बताए ।
“केन्द्रले राप्रपाबाट समायोजन भएर आएका नेता कार्यकताकै लागि पाँचसय क्रियाशिल सदस्यता पठाएको छ,त्यससँगै पार्टिले पुर्व पार्टीमा हुँदा लिएको रसिद वा विश्वास दिलाउने परिचय पत्र देखाएरमात्र मात्र क्रियाशिल सदस्यता दिनुपर्ने स्पष्ट निर्णयनै गरेको छ,यस्तो अवस्थामा पार्टीको निर्देशनलाई वेवास्ता गरेर क्रियाशिल सदस्यता दिन मिल्दैन”बुढाले प्रष्ट भने ।
राजनितिमा सबैकुरा सम्भवहुने भएकाले आन्तरिक समझदारी र छलफलबाट यो बिषय टुङ्गो लगाउन सकिने भएपनि केन्द्रिय सदस्य सहितको टोली बैठकमै उपस्थिति नभइ काठमाण्डौ हानिएको सभापति बुढाको भनाई छ ।
समायोजन भएर आएको केन्द्रिय सदस्य बुढा लगायतको टोली जिल्लाका ठेकेदारको बचाउ गर्न काङ्ग्रेस कब्जागर्न आएको सभापति बुढाले आरोप लगाए ।
सभापति बुढा पनि यस अघि देउवा निकट मानिए पनि पौडेल र कोइराला प्यानलसँग नजिक भएको उनकै प्यानलकाएक नेताले भने ।
निवर्तमान सभापति बुढा तत्कालिन नेकपा एमाले परित्याग गरि काङ्ग्रेस प्रवेश गरेपछि देउवाकै अगुवाइमा बुढाले दश बर्षे क्रियाशिल सदस्यता पाएका थिए ।
सभापति बुढा पक्षको टोली पनि केही दिनमै आफु निकट नेता भेट्न राजधानी जाने तयारी गरिहेको बताइएको छ ।
केन्द्रले पठाएका बाँकी तीन हजार क्रियाशिल सदस्यता मध्ये प्रदेश ख का लागि छ सय सदस्याता ल्याइसकेको पार्टी सचिव जयस उपाध्यायले बताए ।

 

 

 

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?