२०८० असोज ९ गते मङ्गलवार

चिसोले बन्द भएका तल्लो डोल्पाका बिद्यालय खुले,उपल्लो डोल्पाका अझै बन्द



डोल्पा २० माघ,
हिमाली जिल्ला डोल्पाका बिद्यालयहरु बन्द भएको एक महिना पछि खुलेका छन् ।
हिँउदको अत्याधिक चिसोले पठनपाठन क्रियाकलाप प्रभावित भएपछि गत पुस पन्ध्र देखि बन्द भएका बिद्यालयहरु एक महिना पछि खुलेका हुन् ।
माघ लागेसँगै तातो ढल्किएपछि जिल्लाका त्रिपुरासुन्दरी र ठुलिभेरी नगरपालिकाका सम्पुर्ण बिद्यालयहरु खुलेका हुन् ।
त्रिपुरासुन्दरी नगरपालिकाको निर्णयबाट एक महिना बन्द गरिएको बिद्यालय गत बिहिवार देखि खुलाएर पठनपाठन क्रियाकलाप सुरु गरिएको त्रिपुरा मावि त्रिपुराकोटका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए ।
माघ लागेपनि चिसो अझै नघटेकाले पठनपाठनमा समस्या भएको बताउँदै घाम लागेको मौका छोपि खुला चौरमा लगेर भएपनि पढाउने गरिएको उपाध्यायको भनाई छ ।
बर्षकै जाडोहुने महिनाका रुपमा रहेका पुष माघ मध्ये माघ महिना अझै बाँकी रहेकाले चिसो अत्याधिक रहेको र कक्षाकोठामै बसेर पढ्न समस्याहुने गरेको कक्षा ९ मा अध्ययनरत छात्रा शुष्मा परियारले बताइन् ।
बिद्यार्थिलाई चिसो लागेको अवस्थामा कक्षाकोठा बाहिर घाममा लगेर शिक्षकले पढाउने गरेको उनको भनाई छ ।
अघिल्लो बर्ष पुष पन्ध्रमा बन्द भएका बिद्यालयहरु फागुन पहिलो सातामात्रै खुल्ने भएपनि यस बर्ष लामो लकडाउनका कारण बालबालिकाको पढाई बिग्रेको भन्दै पन्ध्र दिन अघिनै बिद्यालय खुलाउने निर्णय गरिएको त्रिपुरासुन्दरी नगरपालिकाले जनाएको छ ।
बिद्यालय खुलेपनि बिद्यार्थिको उपस्थिति न्युन रहनुका साथै जिल्ला बाहिर घर भएका शिक्षकहरु बिद्यालय पुग्नेक्रम जारी रहेको आदर्श माध्यामिक बिद्यालय जुफालका प्रधानाध्यापक पुर्ण बहादुर डाँगीले बताए ।
जिल्ला दुई वटा स्थानीय तहमा बिद्यालय खुलेपनि काईके,जगदुल्ला,मुड्केचुला गाउँपालिकाका बिद्यालय भने अझै खुलेका छैनन् ।
पुस पन्ध्र देखि बन्द भएका तीनवटै स्थानीय तहका बिद्यालयहरु फागुन पहिलो सातामात्रै खुल्ने गाउँपालिकाले जानकारी दिएका छन् ।
उपल्लो डोल्पाको बिद्यालय अझै बन्द
माघ पन्ध्र लागेसँगै तल्लो डोल्पाका बिद्यालयमा धमाधम पठनपाठन सुरु भएपनि उपल्लो डोल्पाका बिद्यालयहरु भने अझै खुलेका छैनन् ।
उपल्लो डोल्पामा पर्ने डोल्पो बुद्ध,छार्काताङसोङ् र शे–फोक्सुण्डो गाउँपालिका २४ वटा बिद्यालयहरु गत कात्तिक महिना देखिनै बन्द भएका हुन् ।
प्रत्येक बर्ष कात्तिक अन्तिममा बन्द भएका उपल्लो डोल्पाका बिद्यालयहरु छ महिना पछि बैशाखमा मात्र खुल्ने तापरिचा माविका शिक्षक लोकेश खत्रीले बताए ।
यस समयमा अत्याधिक हिमपात हुने र चिसोले स्थानीयबासी समेत जाडो छल्न बेशीझर्ने भएकाले बिद्यालयहरु लामोसमयका लागि बन्दहुने गर्दछन् ।
जिल्लाका आठवटा स्थानीय तहमध्ये केहीले बार्षिक परीक्षा सम्पन्न गरेरै पुष पन्ध्रमा बिद्यालय बन्द गरेका थिए भने केही स्थानीय तहले बन्द गर्न अघि प्रथम त्रैमासिक परिक्षामात्र सञ्चालन गरेका थिए ।
जिल्लाका आठवटै स्थानीय तह गरेर कुल १ सय १२ वटा बिद्यालय रहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?