२०८० जेष्ठ २६ गते शुक्रवार

कांग्रेसको विरोधसभा: आन्दोलनबाटै संसद पुनर्स्थापना गर्ने चेतावनी



विराटनगर: संसद विघटन विरुद्ध विराटनगरमा मंगलबार आयोजित विरोधसभाका वक्ताहरुले सडक आन्दोलनको बलमा संसद पुनर्स्थापना गर्ने दावी गरेका छन् ।

नेपाली कांग्रेस संयुक्त भ्रातृ संघको आयोजनामा आयोजित विरोधसभाका वक्ताहरुले लामो संघर्षले स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन सडक आन्दोलन गर्नुपर्ने बताए ।

कांग्रेसको नेतृत्वमा जारी संविधानको मर्म र भावना विपरीत नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले सनकको भरमा प्रतिनिधिसभा विघटन गरेको भन्दै त्यसको विरोध गर्नुपर्ने उनीहरुले चेतावनी दिए ।

सभामा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनतासँग सहकार्य गरेर सडक आन्दोलनको भरमा संसद पुनर्स्थापना गर्ने चेतावनी दिए । अदालत भन्दामाथि मुलुकको संविधान रहेकोले संविधानको मर्म र भावना अनुसार संसद पुनर्स्थापना हुनेमा आफू आशावादी रहेको नेता पौडेलले बताए ।

‘फैसला संविधानको मर्म अनुसार हुनुपर्छ, परम्परा अनुसार हुँदैन,’ नेता पौडेलले बताए । यस्तै ओली मुलुकमा समस्या सिर्जना गरेर भ्रष्टार गर्न उद्दत भएको पनि बताए ।

अर्का वक्ता कांग्रेसकै केन्द्रीय सदस्य अमृत अर्यालले कांग्रेसले मुलुक निर्माण गर्न बनाएको संरचनाहरुलाई नेकपाले तीन वर्षमा भत्काएको आरोप लगाए ।

विरोधसभामा मुस्लिम संघका मोरङ अध्यक्ष आजाद आलम, कांग्रेस नेता भक्ति नाथ माझी, शान्ता पौडेल, राजीव विक्रम साह, हसन अन्सारी लगायत वक्ताहरुले संसद पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति : २०७७ माघ २० गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?