
काठमाडौंँ । मिस नेवा: नेपालको १५ औं संस्करणका प्रतियोगीहरुले आफूमा रहेको प्रतिभा प्रदर्शन गरेका छन् । राजधानीमा आयोजित प्रतियोगिताको ट्यालेन्ट राउण्डमा अन्तर्गत उनीहरुले आआफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।
सो क्रममा प्रतियोगी नेवार सुन्दरीहरुले नृत्य, अभिनय, कविता वाचन, वक्तृत्व कला, चित्रकला, वाद्यवादन, हस्तकलालगायत प्रतिभा देखाएका थिए । कराँते संघका अध्यक्ष तथा नेपाल प्रमूख सिहान अशोककुमार श्रेष्ठ, नेपाल टेलिकमका नायब महाप्रवन्धक राजेन्द्र श्रेष्ठ, पत्रकार दीपक श्रेष्ठ, गायिका सविना मानन्धर, नेपाल लिपी गुठीका उपाध्यक्ष अनिल स्थापित र बुटिक संघका संस्थापक अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ ट्यालेन्ट राउन्ण्डको निर्णायकमा रहेका थिए ।
मिस नेवाः नेपाल अन्र्तगतको मिस नेवाः नेपाल ट्यालेन्टेड उपउपाधिका लागि ट्यालेन्ट शो आयोजना गरिएको आयोजक संस्था नेप्लीज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले जानकारी दिइन् । नेप्लीज फेसन होमले नेवार समुदायको कला, धर्म, संस्कृति, भाषा र भेष चिनाउने तथा यसको पहिचानलाई जीवन्त राख्ने अभियान अन्र्तगत हरेक वर्ष मिस नेवाः नेपाल आयोजना गर्दै आएको छ ।
प्रतियोगिताको फाइनल स्पर्धा आगामी फागुन ७ गते राजधानीको नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजना हुने आयोजकले जनाएको छ । प्रतिस्पर्धामा यो पटक १५ नेवार सुन्दरी अन्तिम प्रतिस्पर्धामा छन् । उनीहरुलाई विभिन्न विधाको तालिम र प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतार्न लागिएको हो ।