२०८० चैत्र ६ गते मङ्गलवार

डोल्पामा हिँउदमा सुत्केरी जोगाउन हिटरको जोहो



रामचन्द्र न्यौपाने
डोल्पा ६ माघ:हिमाली जिल्ला डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ ।
जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा बच्चा तथा बिरामीहरुलाइ चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो ।
तीन जना स्थानीय डाक्टरहरुको समुहले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी आमा बच्चा तथा अन्य बिरामीको अवस्था जोखिममा रहेको भन्दै ५ वटा ग्यास हिटर र १० वटा सिलिन्डर सहयोग गरेका हुन ।
ललितपुर स्थित पाटन अस्पतामा कार्यरत डाक्टर अखण्ड उपाध्याय,जिल्ला अस्पताल डोल्पामा कार्यरत डाक्टर मेलिना हमाल र डाक्टर मछिन्द्र बडुवालले ग्यास हिटर किन्नकालागि अभियाननै चलाएर सहयोग रकम उठाएका थिए ।
डाक्टरहरुको अभियानलाई सफल बनाउन देश तथा विदेशमा रहेका विभिन्न संघ संस्था र २९ जना व्यक्तिबाट कुल ९० हजार रकम उठाएर ग्यास हिटर र सिलिन्डर खरिद गरि जिल्ला अस्पताललाइ हस्तान्तरण गरिएको छ ।
दुनैमा बिस्तारित बिद्युतको भोल्टेज न्युन भएकाले गर्भवती महिला सुत्केरी हुन अघि र भईसके पछि चिसोले सास्ती खेप्नु परेको चिकित्सकहरुले बताएका छन् ।
हिँउदको कठ्याङ्ग्रीदो चिसोका कारण सुत्केरी पछि आमा र बच्चाको स्वास्थ्य अवस्था गम्भीरहुने अवस्था भएकाले स्थानीय डाक्टरहरुले अभियाननै चलाएर हिटरको जोहो गरिएको डाक्टर अखण्ड उपाध्यायले जानकारी दिए ।
सुत्केरी आमा,बच्चा तथा अन्य बिरामिहरुको कष्टकर अवस्थाले डाक्टरहरुको मन खाएपछि हिटर किन्न अभियान चलाएकाले उपाध्यायको भनाई छ ।
तीनै जना डाक्टरको समुहले यस अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै अब अस्पतालमा आउने सुत्केरी तथा बिरामिलाई निकै ठुलो राहत हुने बताए ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?