
डोल्पामा कार्यरत नेपाली सेनाको टोली सामाजिक कार्यमा अग्रसर बन्न थालेको छ ।
शे-फोक्सुन्डाे राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्म सुलिगार्डमा कार्यरत सेनाको टोली सामाजिक कार्यमा अग्रसर बनेको हो ।
दुई महिनायता मात्रै सेनाको टोलीले सार्वजनिक बाटाघाटा मर्मत गर्ने, पर्यटकीय गन्तव्यहरू संरक्षण तथा सरसफाइ गर्ने, गाउँगाउँमा पुगेर जनचेतनामूलक कार्यक्रम गर्ने लगायतका आधा दर्जन सामाजिक काम गरेको छ ।
गत शुक्रबार सेनाको टोलीले जिल्लाको आकर्षक पर्यटकीय गन्तव्यको रूपमा चिनिने तातोपानी कुवाको सरसफाइ गरेको छ ।
ठुलीभेरी नगरपालिका पर्ने रुपगाड खोलादेखि तातोपानी जाने बाटोको सामान्य मर्मत तथा सरसफाइ गरिएको सेनानी लेखनाथ कटवालले बताए ।
बीचबीचमा बाटो भत्केर तातोपानीमा नुहाउन जाने नागरिकलाई समस्या भएपछि सेनाले मर्मत गरेर राम्रो बाटो बनाएको उनको भनाइ छ ।
एक साताअघि मात्रै त्रिपुरासुन्दरी नगरपालिका– २ मा पर्ने रसी गाउँको सिर्जनशील युवा क्लबलाई सेनाले भलिबल, नेटलगायतका खेल सामग्री प्रदान गरेको थियो ।
त्यसैगरी सेनाकै नेतृत्वमा नेपालकै गहिरो फोक्सुण्डो ताल सरसफाइ गर्नुका साथै शे–फोक्सुन्डाे गाउँपालिका– ८ मा पर्ने पुग्मो गाउँ र ताप्रिचा माध्यमिक विद्यालयमा कोभिड– १९ बारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाविरुद्ध सतर्कता अपनाउन आग्रह गर्दै विकट गाउँ तथा विद्यालयहरूमा पुगेर चेतना फैलाउने काम गरिहरहेको सेनाले जनाएको छ ।
उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि खेल सामग्रीसमेत प्रदान गरिएको सेनाले जनाएको छ ।
सेना र नागरिकबीचको सम्बन्धलाई बलियो बनाउन सार्वजानिक स्थल तथा बाटाघाटा मर्मत तथा सरसफाइ गर्ने, पर्यटकीय स्थलहरू संरक्षण सम्बर्द्ध्न गर्ने, प्राकृतिक विपत्तिका घटनामा यथाशीघ्र खटिनेलगायतका काम गर्दै आएको सेनाको भनाइ छ ।
डोल्पाकै एक मात्र भरपर्दो डोल्पामा अस्पतालमा रगतको अभावमा ज्यान खतरामा परेका सुत्केरी तथा बिरामीका लागि रगत दिएर बचाउने कामसमेत गर्दै आएको छ ।
जिल्ला अस्पतालमा ब्लड बैंक नभएकाले रगतको खाँचो पर्नेबित्तिकै सबैभन्दा पहिला सेनालाई फोन गर्ने गरेको अस्पतालले जनाएको छ ।
पछिल्लो समय सामाजिक कार्यमा सेनाको सक्रियता बढेको भन्दै सरोकारवाला निकायले प्रशंसासमेत गरेका छन् ।