२०८० जेष्ठ २६ गते शुक्रवार

उपल्लो डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग



डोल्पा ८ कात्तिक
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहमा तत्काल खाद्यान्न ढुवानी गर्न माग गरिएको छ ।
जिल्ला खाद्य सुरक्षा समितिको बैठकले हिँउदको समयमा हुनसक्ने खाद्यान्न संकटको खतरालाई मध्येनजर राख्दै उपल्लो डोल्पाका तीन स्थानीय तहमा कात्तिक महिना भित्रै खाद्यान्न ढुवानीका लागि माग गर्ने निर्णय गरेको हो ।
उपल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो,डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा कात्तिक महिना भित्रै स्थलमार्गबाट खाद्यान्न ढुवानीको व्यवस्था मिलाउन अनुरोध गर्ने निर्णय गरिएको जिल्ला खाद्य सुरक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढाले जानकारी दिए ।
“कोरोना भाइरसका कारण चीनको स्वसासित क्षेत्र तिब्बत हुँदै उपल्लो डोल्पामा पर्ने मोरिम्ला र क्याटो नाकामा खाद्यान्न लैजान चीनले भिसा दिएन्,सोही कारणले हिँउदको समयमा उपल्लो डोल्पामा खाद्यान्न संकट पर्ने खतरा छ” प्रमुख बुढाले भने ।
“उपल्लो डोल्पामा पर्ने खाद्य संकटलाई मध्येनजर राख्दै कात्तिक महिना भित्र खाद्यान्न ढुवानीकालागि संघिय सरकार,प्रदेश सरकार,खाद्य व्यवस्था तथा व्यापार कम्पनिको केन्द्रिय कार्यालय लगायतका सम्बन्धित निकायलाई अनुरोध गर्ने बैठकबाट निर्णय भएको छ ।”
“हिँउदको समयमा उपल्लो डोल्पामा भारी हिमपातहुने भएकाले सोही समयमा हवाई मार्ग बाहेक स्थलमार्गबाट खाद्यान्न ढुवानी गर्न सम्भव छैन,सोही कारणले तत्काल खाद्यान्न ढुवानी गर्न अनुरोध गर्ने निर्णय गरिएको हो ”बुढाले थपे ।
कोरोना भाइरसका कारण मुख्य आम्दानीको स्रोतको रुपमा रहेको यार्सागुम्बा टिप्न नपाउनुका साथै ठेकेदारले चीनियाँ मार्गहुँदै चामल,नुन लगायतका सहुलितको खाद्यान्न ढुवानीकालागि भिसा नपाएपछि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ ।
सहुलितय मुल्यमा पाईने सरकारी चामल नगएपछि तीस किलोको छ हजार तिरेर खोजि–खोजि बजारिया चामल प्रयोग गर्न बाध्य भएको उपल्लो डोल्पालीको गुनासो छ ।
खाद्यान्न सँगै आर्थिक संकट परेपछि स्थानीय साहुबाट छत्तिस प्रतिशतमा ऋण काडेर चामल किनेर खाने गरेको उपल्लो डोल्पामा पर्ने धो गाउँका स्थानीयले बताए ।
“पैसाहुनेले नगत दिएर चामल खान्छन नहुनेले चामलको मुल्यमा छत्तिस पैतिशत ब्याज जोड्ने गरेर उधारोमा चामल खान्छन्,यस बर्ष यार्सागुम्बा टिप्न नपाएकाले केही नागरिक बाहेक अधिकाशंको आर्थिक अवस्था नाजुक छ”धो गाउँका स्थानीय नेयार भोटेले बताए ।
उपल्लो डोल्पामा उवा र आलु गरेर दुई बालीमात्र उत्पादनहुने भएकाले अरु सबै अन्यत्रबाट किनेर गुजारा गर्नुपर्ने बाध्यता छ ।
भोट क्षेत्रमा बस्ने नागरिकको समस्यालाई मध्येनजर राख्दै तत्काल सहुलियतको खाद्यान्न पठाउन जिल्ला स्थित सरोकारवाला निकायले सरकारलाई माग गरेकाछन् ।रामचन्द्र न्यौपाने

प्रकाशित मिति : २०७७ कार्तिक ८ गते शनिवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?