२०८० चैत्र १६ गते शुक्रवार

पर्यटकिय सम्भाबनाले भरिपुर्ण त्रिपुरासुन्दरी नगरपालिका,यि हुन एक पटक पुग्नै पर्ने गन्तब्यहरु !



डोल्पा जिल्ला आफैमा प्राकृतिक, भौगोलिक, सांस्कृतिक, कृषि आदि क्षेत्रमा सुन्दर तथा विशाल भएको जिल्ला हो । फोक्सुण्डो ताल र क्याराभानको नामले परिचित यस जिल्ला प्रकृतिको सुन्दरताले भरिपूर्ण छ । यहाँको ताल तलैया, नदिनाला, गुम्बा, मठ मन्दिर, हिमाल, जंगली जनावहरु, भेषभुषा, कृषि, संस्कृति लगायतका क्षेत्रहरु अझै पनि सबैमाझ परिचित हुन सकेको छैनन् । डोल्पा जिल्ला भौगोलिक विशालता, सांस्कृतिक विविधता, प्राकृतिक सुन्दरता, पर्यटन व्यवसायको प्रचुरता र जैविक विविधतामा सम्पन्नताले सजिएको अनुपम स्थल हो । समुद्र सतहबाट १५२५ देखि ७७५४ मिटर उचाई रहेको डोल्पा जिल्ला फोक्सुण्डो ताल, फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, सुलिगाड झरना, विश्वको सर्वाधिक उचाईमा रहेको मानब बस्ति छार्का भोट, र्दुलभ काईके भाषा लगायत अनेकन बहुमूल्य जडिबुटीहरु समेत पाईन्छ ।
त्रिपुरासुन्दरी नगरपालिका डोल्पा प्रवेशको एक मुख्य द्वार हो । सडक मार्गबाट प्रवेश गर्ने सम्पूर्ण आन्तरीक तथा बाह्य पर्यटकहरु त्रिपुरासन्दरी नगरपालीकाको त्रिवेणी मुख्य प्रवेशद्वारबाट प्रवेश गर्दछन् । साविकका ५ वटा गा.वि.स.हरु मिलेर बनेको यो नगरपालिकाका ११ वटा वडाहरुमा विभिन्न पर्यटकीय गन्तव्यहरु रहेका छन् । मनोरम प्राकृतिक सम्पदा, धार्मिक स्थलहरु, पुरातात्विक महत्वका क्षेत्रहरु र कृषि यहाँका मुख्य पर्यटकीय श्रोतहरु हुन । स हिमाल, झरना, खोलानाला, मठ मन्दिर, गुम्बा, पुरातात्विक सम्पदाहरु, कृषि प्रणाली, मनोरम वस्तीहरु यस क्षेत्रका आर्कषक पर्यटकीय क्षेत्रहरु हुन् । यी सम्पदाहरुको विशेष रुपमा संरक्षण, व्यबस्थापन तथा प्रचार प्रसार गरी पर्यकहरुको आगमनमा अभिबृद्धि गर्न सकिन्छ । यस नगरपालिका क्षेत्र भित्र पर्ने विभिन्न मुख्य पर्यटकीय क्षेत्रहरु यस प्रकार रहेको छन् ।

बाला त्रिपुरा सुन्दरी भगवती माता

बाला त्रिपुरासुन्दरी भगवती माताको मन्दिर नेपाल तथा भारतमा रहेका हिन्दुहरुको प्रशिद्ध तिर्थस्थल हो । चारैतिर होचो भुभाग र वरीपरि नदीहरुले घरेको यो मन्दिर केही अग्लो पहाडको बिचमा प्राचिन संरचनाको चारैतिर ठड्याईएका बिशाल चार ध्वजावाहक काठका लिङ्गा तथा अन्य संरचनाले सजिएको छ । इ.स १११४ सालमा स्थापना भएको बताईने यस मन्दिर भौगोलिक रुपमा पनि पृथक छ । यस मन्दिरको पूर्वमा बाहुन टोल, पश्चिममा ताम्राबणि नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरबि गंगा लगाएतका प्रशिद्ध तिर्थस्थलहरु रहेका छन भने बिचको टाकुरामा यस मन्दिर अबस्थित छ ।
यस मन्दिरबाट देखिने नागबेली आकारको ठुलो भेरी नदी, मन्दिरको पारीपट्टी देखिने हिँउले सिँगारिएका मुकुटेश्वर हिमाल लगायतका प्रशिद्ध हिमाल, आँखैमा टाँसीएजस्तो देखिने सोत्तर उम्रेका उराठ नाङ्गा डाँडापाखा बिशाल उब्जाउयोग्य फाँट मन्दिरको बाहिरी आकर्षणका केन्द्रबिन्दु हुन । मन्दिर पुगेपछि देखिने यस्ता दृष्यहरुले मन्दिर पुग्ने जो कोहीको पनि मन लोभिने गर्दछ ।

छल मष्टा भवानी मन्दिर

इं.स. १३५३ तिर मौरे देखि उताको क्षेत्रमा रहेका बुराल देवता को पुजाआजा गर्न तथा दर्शनभेट गर्नको लागी डोल्पाका भोटान क्षेत्रका भक्तजनहरु उक्त क्षेत्रमा जाने प्रचलन थियो । एक समय बाहुन पुजारी बुराल देवताको दर्शन गर्न जाने क्रममा मौरे जलजला भन्ने स्थानमा हिँउको कारण बाहुनको मृत्यू भए पश्चात बुराल देवता आफै डोल्पामा स्थापित हुने चाहना अनुरुप डोल्पाको काँडा तालीमा बुराल देवताको स्थापना भयो । उक्त समय शक्ति पीठको स्थापना भएकाले भक्तजनहरुले तामा, धान लगायतको सम्पति चढाउदा तथा खशीबोका चढाउदा बुराल देवताकोमा सम्पतिको जम्मा भयो । उक्त समयमा बुराल धामीको पत्निले एक दिन राता पहेला कपडाले तथा मासुको गन्धले धेरै दिक्क भएको कुरा राख्दा धामी र डाँग्रे बिच विवाद उत्पन्न हुँदा धामीले तामाको भाडा रोलागाडमा राखेर खोला सुकाउने तथा डाँग्रेले चिनु खोलामा राखेर रोलागाड थुन्ने भन्ने वातविवाद चल्दा धामीलाई केही असहज भयो । यहि क्रममा धामी र डाँग्रे जुफालको लागि यात्रा गर्ने क्रममा डाँगिबाडा पुगेर फर्कने क्र्रममा सुधा लाग्नाको फेदमा साँझ परेछ । उक्त समयमा जाग्ना को लाईन (भारी बोकेका खसीहरुको लाईन) बाट उज्यालो प्रकाश बलेको र जाग्नाको अगाडी पछाडी कुनै हेरालो नभएको देखेर दुबैजना बेहोस भएछन् । जाग्नाको अन्तिममा रहेको खसीलाई चोट लागेको र केही कमजोर देखेर धामीले होस खुलेपछि अचम्म मान्दै कसको रहेछ भनेर उक्त खसीलाई समातेछन् । सो समयमा अचानक धामीको बुरालको मन्दिरबाट एउटा कडी भएको र एउटा नभएको तामाको भाडा मन्दिरबाट बाहिर निस्कियो । धामी सम्पतिको नाश भयो भनेर मुर्छा परे भने जाग्ना डाँगिबाडा हुँदै मोतिपुरको पुल तरेर रुपको जंगलमा गएर हराए । यसको मतलब काँडातालीमा रहेको बुरालको सम्पत्ति रुपमा गएर बस्यो ।
त्यस पश्चात बुरालले मान्छेको भेषमा रहका पुजारीलाई एक दिन म औशी या पूर्णिमाको दिन आउछु नडराउनु भनेछन् । त्यसपश्चात औशी पूर्णिमाको दिन पुजारी धुप बत्ति बालेर मन्दिर भित्र जाँदा एक दिन बाबाजी बसिरहेको देखेछन् । पुजारीले बाबाजी बसेको देखेर डराए र भाग्दा बुरालको रहमा स्थापना हुन सकेन् । हाल रहमा बुराल बसेको ढुँगा, मुर्ति देख्न सकिन्छ । त्यस पश्चात बुराल कहाँ स्थापना हुने सोचेर पाहाडा तिर लाग्ने क्रममा पातिहाल्नाको चैत्री बिसाउने स्थानमा गएर बसेर अध्ययन गरेर हेर्ने क्रममा हाल छलको पहिलो धामी गाई चराउदै ढुँगा माथि बसेर मुरली बचाउदै गीत गाएको देखेछन् (दामे मोहोरीको भतिज जुन समयमा उ टुहुरो हुनुहुन्थ्यो र भोको गरीब भएर काकाको गाई चराउने काम गर्दथ्यो) । उक्त समयमा बुरालले भैरवी गंगा, तामाश्राी गंगा, शक्ति पीठ बाला त्रिपुरासुन्दरी, मुकुटेश्वर हिमाल, तेलकुण्ड, दुधकुण्ड, मुटेचुला हिमाल, कोली बगरको बिचमा टल रातामाटा भन्ने स्थान देख्यो र उक्त स्थानमा बस्ने बिचार गर्यो । एक दिन पुन बुरालले रहकै जस्तो गरेर छलको मान्छेलाई म एक दिन आकाशबाट झर्नेछु चनाखो हुनु भनेर जानकारी दिएछन् । एक दिन मध्यरातमा सबैजना सुतेको बेला एक्कासी छल माथिको मुकुटेश्वर हिमालको आकाशबाट घण्टी बज्दै बत्ति बलेर तारा खसेझै तल झदै छलको हालको मुल थानमा झरेछ । उक्त समयमा रञ्जनाले थाँहा पाएर धुप बत्ति बालेर पुजा गरीसकेपश्चात हालको छल मष्टा भवानी ताँहा स्थापना भएको मानिन्छ । हाल सम्म शक्तिशाली र मान्दै आएको शक्तिपीठ मा विभिन्न जिल्लाका भक्तजनहरु समेत दर्शन गर्न आउने गर्दछन् ।

शिवालय मन्दिर जिऊ र रुम

हालको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ जिउ गाँउको शिरान क्षेत्रमा शिवालय फटिक रहेको थियो । एक दिन उक्त स्थानबाट देवताले भक्तलाई म यहाँबाट उठेर हिड्छु तिमि मलाई छोप्नु भन्ने आज्ञा भएछ । सोही समयमा देवता ठुलो अजिङ्गरको रुप धारण गरेर बालीनाली भएको क्षेत्रमा ओरालो तर्फ पूर्व तिर पूच्छर र पश्चिम तिर टाउको गरेर पल्टदै जाने क्रममा हालको शिवालय मन्दिर भएको स्थानमा मुखबाट फिँज निकालेछ । हाल उक्त स्थानमा पानीको मुल रहेको छ । त्यस पश्चात उक्त अजिङ्गर धर्ति भित्र छिरेछ र अचानक पुजारीको होस खुल्दा पुच्चछर मात्र छिर्न बाँकी भएको अबस्थामा टोपीको सहायतामा पुच्छर समातेछन् । हाल उक्त स्थानमा सर्पको पुच्छरको संकेत छ । उक्त समयमा हालको शिवालय मन्दिरको स्थापना गरेर पुजाआजा गरिदै आएको छ ।
सोही समय पश्चात रुपमा पनि हालको धार्मिक वनको स्थापना भएको हो । हाल रुमको बनमा हजारौ बर्ष पुराना ४८ फुट गोलाई भन्दा बढीका रुखहरु छन् । जिऊ र रुमको शिवालयमा हाल एक दिन फरक पारेर पुजाआजा गरिन्छ ।

बर्मा

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ४ मा रहेको बर्मा देवताको मन्दिर पनि धार्मिक रुपमा प्रख्यात रहेको छ । डोल्पा जिल्लाका १८ वटा साविकका गा.वि.स.हरु बाट यस मन्दिर तथा देवताको दर्शन गर्न आउने गर्दछन् । बिशेष गरी कार्तिक महिनाको पूर्णिमाका समयमा यस क्षेत्रमा ठूलो पुजा हुने र उक्त समयमा भक्तजनहरु विभिन्न क्षेत्रबाट आउने गर्दछन् ।
गुम्बा

रल्ली राजारानीको क्षेत्र
बाईसे चौबीसे राज्यहरु मध्य बलियो मानिएको चारासेरी नगरीको रुपमा परिचिते वडा नं १ रल्ली स्थित राजारानी क्षेत्रमा लिम्बु ल्याप्चे नामका राजाले राज्य चलाउने गरेका थिए । उक्त क्षेत्रको ५ रोपनी धान फल्ने खेतमा हरेक बर्ष राजाले प्रजाहरु मार्फत धान रोपण गर्दा मानव वली दिने र यो हरेक बर्ष फरक फरक घरमा सर्दै जाने परम्परा रहेको भनाई छ । राजारानीको क्षेत्रमा हाल पुरातात्विक महत्व बोकेका लामा लामा शिलाहरु, राजारानीको नाममा ढुँगाको सालिक, ठुलाठुला दमाहा, देवी देवताका मुर्ति, बाकस आकारका स्तम्भहरु देख्न सकिन्छ । यसै गरि पुरातत्व विभागको उत्खनन् तथा अध्ययन पश्चात यस क्षेत्रमा मानव कंकालहरु, प्राचिन बहुमुल्य वस्तुहरु, समेत देखापरेका छन् ।
यस क्षेत्रमा सिमसार ताल पनि रहेको र उक्त स्थानमा राजाको परिवारले धानखेती गर्ने प्रचलन रहेको थियो । धान खेती गर्ने क्रममा हरेक बर्ष मानव बली चढाउनुपर्ने परम्परा अनुसार एक दिन काँडातालीको बाबु र छोरा मात्र भएको परिवारमा परेछ । त्यस समय बलीमा को जाने भनेर बाबु र छोरा बिच ठुलो बहस भएछ । बाबुले छोरा म बुढो भए म बली चढ्छु भन्दा छोराले जन्म दिने बाबु भन्दा म बली चढ्दा राम्रो भनेछ त्यसै गरी विवाद चलिरहदा बाबु र छोरा रल्लीको राजारानी क्षेत्रमा आउदै रहेछन् । धान रोप्नको लागि सबै तयारी अबस्थामा रहेको र बलीका लागि समय पर्खेको अबश्थामा बाबु र छोरा विवाद गर्दै बली चढाउने समय भन्दा केही ढिला पुगेछन् । समय कटेपछि धान रोपण गर्न तयार भएका रोपाहाहरु, हलि, गोरु सबै उक्त सिममा एक्कासी डुबेछन् । उक्त समय देखि मानव बली चढाउने प्रथाको अन्त्य संगै राजारानीको पनि अन्त्य भएको भन्ने ईतिहास रहेको छ ।

करेलिकाँडाको बिक्रमशाही महाराजाको दरबार

को करेलीकाँडा माथिको मुकुटेश्वर हिमाल नजिकैको डाँडामा बाईसे चौबीसे राजाको रुपमा रहेका बिक्रम शाही महाराजाको दरबार रहेको छ । हाल दरबारको भग्नाबशेषहरु सुरक्षित रुपमा रहेका छन् । धार्मिक हिसाबमा पनि महत्व बोकेकोले तिर्थालुहरु यस क्षेत्रमा जाने भएकाले हाल सो क्षेत्रमा धर्मशाला पनि निर्माण गरीएको छ । राजा विक्रम शाही एक तपश्वि र धार्मिक राजाको रुपले परिचित रहेका थिए । इ.स. १११४ तिर बिक्रम शाही महाराजा हालको दरबार क्षेत्रबाट हरेक दिन बिहान त्रिपुरासुन्दरीको त्रिवेणी नदीमा स्नान गरेर माता बाला त्रिपुरासुन्दरी भगवतीको दर्शन गरी हालको खौलामा रहेको उहाँको गद्दीमा आरामा गरे पुन दरबार क्षेत्रमा फर्कने गर्दथे । त्रिपुरासुन्दरीमा राजाले पुजा गर्दा बिरे भन्ने दमाहाले दमाहा बजाउने गर्दथ्यो । राजा त्यतिबेला सुरक्षित स्थानमा बसेर कसैबाट आक्रमण नहोस भन्ने हिसाबले उक्त डाँडामा बस्ने गरेको भनाई छ । साथै त्यति बेला जति अग्लो स्थानमा बस्यो त्यति शक्तिशाली हुने भन्ने मान्यताले पनि राजा उक्त स्थानमा बसेका थिए । ७ औ सताब्धीमा यो दरबार त्रिपुराकोटको गद्दीमा भएको भनाई रहेको छ । बिक्रम शाहीे त्रिपुराकोटमा १४ घर बिष्टका परिवारलाई आफ्नो काजीको रुप्मा राखेका थिए । भगवती मन्दिर पछाडी बिक्रम शाहीको पहिलो दरबार थियो । त्यस दरबार क्षेत्र भित्र धान कुट्ने ढुँगाको ठूलो ओखल रहेको थियो । त्यसै क्षेत्रमा एउटा बेरुको रुख पनि थियो र हाल पनि रहेको छ । बिक्रम शाहीले वेरुको फूल फूले पछि आफैले टिपेर भगवतीलाई चढाउने गर्दथे । राजाको खानाका लागि उक्त ओखलमा काजीनीहरु धान कुट्ने गर्दथे ।
राजा बिक्रम शाही ताउलाखाट लडाई हुँदा गुद्दुमको डाँडामा दुस्मनहरुले आफुलाई मार्ने योजना बनाएको थाँहा पाए पश्चात दुश्मनको हातबाट मर्नु भन्दा आफै मर्ने अभिप्रायले हतियारले हाफ्नो छातीमा आफै प्रहार गरेर मरेका थिए । र उक्त समयमै बिरे दमाई पनि राजा मरे पश्चात हतियारले आफै प्रहार गरी मरेका थिए । हाल बाला त्रिपुरासुन्दरी मन्दिरमा राजा बिक्रम शाही, रानी अग्रावती र छोरा बद्री शाहको नाममा पुजा हुने गर्दछ । विरे दमाईको नाममा समेत भाले चढाएर पुजा गरीन्छ ।

खोलानाला
त्रिपुरासुन्दरी नगरपालिकामा विभिन्न साना र ठुला नदीहरु रहेका छन् । ठुलीभेरी पनि बग्ने यस नगरपालिकामा गल्ल्लीगाड, छलगाड, चुँ गाड, करबगाड जस्ता ठुला खोलाहरु रहेका छन भने अन्य स–साना खोलाहरु प्नि रहेका छन् । यस नगरपालिका भएर बग्ने भेरी नदीमा काईकिगं, र्याफ्टिङ गर्न सकिन्छ भने माछा मारेर पनि मनोरञ्जन लिन सकिन्छ ।

झरना
नगरपालिका क्षेत्रमा स–साना झरनाहरु प्नि रहेका छन् । यस नगरपालिकाको वडा नं ८ मा रहेको खालिछहरा झरना पनि पर्यटकीय महत्वको रुपमा रहेको छ । त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं ८ स्थित खालिबनको लेकबाट झर्ने झरना हिँउद याममा हिउले ढाकिएको र बरफ जमेको हुन्छ भने बर्षायाममा झरनाको स्वरुप राम्रो देखिन्छ । झरनाको वरपर बाक्लो जंगल तथा माथि तिर पाटन क्षेत्र रहेकाले पनि यो अत्यन्त सुन्दर देखिन्छ ।

त्यसै गरि नगरपालिकाको वडा नं ४ को फोइ स्थित छ्यालछरा झरना पनि पर्यटकीय हिसाबमा सुन्दर र मनोरम रहेको छ । झरनाको नजिकको भिरमा ढुँगाले बनेको सर्पको चित्र पनि रहेकाले यो क्षेत्र थप आर्कषक रहेको छ । परापूर्व कालमा विशाल सर्प विभिन्न वस्तीहरु सखाप पार्दै रंग गाँउ पनि सखाप पार्न तर्फ उन्मुख भएको बेला भिमसेनले सो सर्पलाई मारेको र त्यसैको अबशेषको रुपमा उक्त सर्प को तस्विर भिरमा देखिएको भनाई छ ।

मुकुटेश्वर हिमाल
करिब ५५०० मिटर भन्दा अग्लो मुकुटेश्वर हिमाल समेत यस क्षेत्रको प्रख्यात हिमाल हो । अग्ला अग्ला हिमाल चढ्ने अनुभव लिनका लागि समेत यस हिमाल चढ्न सकिन् । सेताम्य हिउमा चिप्लेटी खेल्दै स्केटिगंको मजा लिन सकिने सम्भावना समेत रहेको छ ।

पाटन क्षेत्र
त्रिपुरासुन्दरी नगरपालिकामा विभिन्न किसिमका मनोरम पाटन क्षेत्रहरु पनि रहेका छन् । विशेष गरि यार्चाकुन्भु टिप्ने यी पाटन क्षेत्रहरु चरिचरण पनि गरिन्छ । अन्य बहुउपयोगी जडिबुटीहरुको संकलन गर्न पनि प्रयोगमा आउने यी विशाल पाटन क्षेत्रहरुबाट मनोरम प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ । भोक्पा, पोकेपानी, सागबारी, यस क्षेत्रका पाटन क्षेत्रहरु हुन् ।

नगरपालिकाको धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा भौगोलिक सम्पदा, सुन्दरता र ईतिहास हेर्ने हो भन्य यस क्षेत्रले बार्षिक रुपमा हजारौ पर्यटक भित्राउन सक्ने संभावना छ । यद्यपी हाल प्रचार प्रसारको कमी, सहज र सरल यातायातको पँहुच र सोही बमोजिमको सेवा सुविधाहरुको कमीका कारण पर्यटकहरु सोचे बमोजिम भित्राउन सकेको छैन । यसर्थ नगरपालिकाको पर्यटकीय संभावनालाई साकार पार्नका निमित्त पर्यटन विकासमा प्राथमिक्ता राखेमा नगर समृद्ध बन्न सक्ने देखिन्छ ।

            लेखक
                                                                                                                            योगेन्द्र बुढा(सर्वाङ्गिण विकास समाज)

प्रकाशित मिति : २०७७ भाद्र १२ गते शुक्रवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?