
डोल्पा २ भदौ
हिमाली जिल्ला डोल्पामा गर्भवती तथा सुत्केरी महिला लक्षित राष्ट्रपति हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको छ ।
सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका डोल्पाली महिलाहरुलाई अप्ठेरो परेको अवस्थामा निशुल्क हेलिकप्टरबाट उद्धारहुन थालेपछि यो कार्यक्रम प्रभावकारी देखिएको हो ।
सडक यातायातको भरपर्दो पहुँच नभएको डोल्पामा आर्थिक बर्ष ०७६÷०७७ मा मात्रै प्रजनन स्वास्थ्यका कारण ज्यान जोखिममा परेका १२ जना गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शुरेस सुनारले जानकारी दिए ।
आव ०७५÷०७६ को तुलनामा ०७६÷०७७ मा सङ्ख्यात्मक हिसाबमा धेरै सुत्केरी तथा गर्भवती महिलाको उद्धार गरिएको उनको भनाई छ ।
“विकट जिल्लाहरुमा प्रजनन स्वास्थ्यका कारण ज्यान जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाहरुको लागि यो कार्यक्रम निकै नै प्रभावकारी देखिएको छ,हेलिकप्टर उद्धार पछि उपचार पाएर दुर्गमका धेरै महिलाहरुको ज्यान जोगिएको छ”सुनारले भने ।
“पर्याप्त सेवा सुविधा नभएकै कारण जिल्लाका दुरदराजका स्वास्थ्य चौकीहरुमा समेत सुरक्षित सुत्केरी गराउनसक्ने अवस्था छैन्,यस कायक्रमका बिषयमा यहाँका आम जनतालाई थाहा भएकाले कतिपयले उद्धारका लागि सिधै प्रशासनमा फोन गर्छन्,त्यस पछिमात्रै हामि उद्धारको प्रक्रिया अघि बडाउँछौ ।”
जिल्लामा उपचार सम्भव नभएको अवस्थामा स्वास्थ संस्थाले गरेको रिफरका आधारमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सँग समन्वय गरेर उद्धारका लागि पहल गर्दै आएको प्रशासनले जनाएको छ ।
यस कार्यक्रम मार्फत उच्च रक्तश्राव भएका,दुई–तीन दिनसम्म सुत्केरी बेथाले थलिएका,स्वाथ्यकर्मीले तोकेको म्याद नाघेर पनि सुत्केरी हुन नसकेका लगायतका प्रजनन स्वास्थ्य समस्याले ज्यानै जोखिममा परेका महिलाहरुको उद्धार गर्ने गरिएको जिल्ला अस्पताल डोल्पाका डाक्टर सिजन रावलले जानकारी दिए ।
उद्धार गरिएका सबै महिलाहरुलाई उपचारका लागि सुर्खेत,नेपालगञ्ज लगाएतका शहरहरुमा लैजाने गरिएको उनको भनाई छ ।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच नभएको डोल्पामा राष्ट्रपति हवाई उद्धार कार्यक्रम साच्चिकै प्रभावकारी भएको नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
यदि कुनै महिला सुरक्षित सुत्केरीहुन नसकेर उपचारका लागि ब्यक्तिगत रुपमा जिल्ला बाहिर लैजानु पर्दा लाखौँ रुपैयाँ खर्चहुने गरेको बुढाको भनाई छ ।
कार्यक्रम लागु भए देखिनै जिल्लामा उपचार सम्भव नभएका गर्भवती तथा सुत्केरी महिलाको निशुल्क उद्धार भएर ज्यान जोगिएकाले यसलाई निरन्तर लागु गर्न डोल्पालीले गरेकाछन् ।